काठमाडौँ , मंसिर ११ । नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद चर्किएको छ। पार्टी नेतृत्वले निर्वाचन पछि हुने गरि अघि सारेको महाधिवेशन तालिकाप्रति असन्तुष्टि जनाउँदै विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले “व्यवहारिक नदेखिएको तालिका कुनै हालतमा नमान्ने” अडान दोहोर्याएका छन्।
विशेष महाधिवेशन पक्षधरले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जनताको अपेक्षा अनुसार पार्टीमा आमूल रूपान्तरण र नवीकरण आवश्यक छ भन्ने गहिरो अनुभूति गर्दै हामीले विशेष महाधिवेशनको माग गरेका हौँ । करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको यो मागलाई नेतृत्वले आजसम्म बेवास्ता गरेकोमा हामी गहिरो दुःख व्यक्त गर्छौँ ।’
नियमित महाधिवेशनको मिति तोक्न समेत आनाकानी गर्ने, विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी केन्द्रीय समितिको बैठकलाई अनावश्यक रूपमा लम्ब्याइरहने प्रवृत्ति अस्वीकार गर्ने जनाएका छन् ।
पार्टीभित्र दुई धार स्पष्ट रूपमा देखिन थालेको छ। एकातिर केन्द्रीय नेतृत्वले तोकेको समयमै महाधिवेशन गर्नुपर्ने पक्षधर छन् भने अर्कोतर्फ संगठन, क्रियाशील सदस्यता विवाद र आन्तरिक संरचना अझै स्पष्ट नभएकाले विशेष महाधिवेशन आवश्यक रहेको दाबी गर्ने समूह सक्रिय देखिएको छ।
यसैबीच पार्टी सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरूसँग आज छलफल गरेका छन्। बालुवाटारमा जारी छलफलमा संगठन सुदृढीकरण, आगामी राजनीतिक रणनीति तथा चर्किँदो असन्तुष्टि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संवाद भएको स्रोतले जनाएको छ।
महाधिवेशनबारे चर्किएको विवाद कार्यवाहक उपसभापति पूर्णबहादुर खड्काले मिलाउन नसकेपछि देउवा आफैँले छलफल थालेका हुन्।
देउवासँगको छलफलमा गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला विजय गच्छदार, डा शशांक कोइराला र डा। प्रकाशरण महतलगायत सहभागी छन्।
देउवासँग छलफलमा रहेका नेताहरू चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। तर महामन्त्रीद्वयले चुनावअघि नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइराखेका छन्।
विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले पार्टीभित्रको वर्तमान अवस्था हेर्दा तोकिएको समयमा नियमित महाधिवेशन सम्भव नरहेको बताएका छन्। उनीहरूको भनाइ छ, “सदस्यता विवाद टुंगो नलागेसम्म र अधिवेशन प्रक्रियामा पारदर्शिता नआएसम्म जबर्जस्ती महाधिवेशन गर्नु पार्टी हितमा हुँदैन।”
कांग्रेसभित्र देखिएको यो आन्तरिक मतभेदले आगामी दिनमा पार्टीको संगठनात्मक गतिविधि र चुनावी रणनीतिमै प्रभाव पार्न सक्ने विश्लेषण भइरहेका छन्।




