पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा



काठमाडौं , मंसिर ११ । पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालत पाटनको आदेशमा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उनी गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ल्याइएका दुईवटा सुटकेशमा भेप भित्र लुकाइएको सुन तस्करीको प्रकरणमा महराको नाम जोडिएपछि अनुसन्धान अगाडि बढाइएको थियो।

अनुसन्धानका क्रममा ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन अवैध रूपमा भित्र्याइएको निष्कर्ष निकालिएको बताइएको छ। यसमा भन्सारका एक कर्मचारीसहित विभिन्न व्यक्तिको संलग्नता रहेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।

उक्त सुन छुटाउन दबाब दिएको आरोप महरामाथि लाग्दै आएको छ। यो प्रकरणमा उनका छोरा राहुल महरा यसअघि नै पक्राउ परेर न्यायिक हिरासतमा पुगेका थिए।

सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको र पछि सीआईबीलाई अनुसन्धानका लागि पत्राचार गरिएको थियो। करिब दुई महिनाको अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्षसहित मुद्दा दायर गरेको हो।

पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ, उनका चालक लोकेन्द्र पौडेल, राहुल महरा र नीमा गुरुङलाई समेत मुद्दामा जोडिएको छ।

यस प्रकरणबारे थप अनुसन्धान प्रक्रिया भने जारी नै रहेको जनाइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १२, बिहिवार १६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको