एमालेको विवादका बीच १२ पार्टीको नेकपा मा भीम रावलको उपस्थितिले रोचक बनाउँदै सुदूरपश्चिमको समीकरण



काठमाडौँ , मंसिर १२ । एक दर्जन बढी पार्टीबीच एकीकरण भएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) एमालेको आन्तरिक विवाद र सुदूरपश्चिममा भीम रावलको प्रभाव रहेकाले आगामी निर्वाचन रोचक बन्ने देखिएको छ । सुदूरपश्चिममा लामो समय प्रभाव जमाएका सबैभन्दा ठूला नेता शेरबहादुर देउवा अब बिस्तारै कांग्रेसको नेतृत्वबाट बिदा लिँदै छन् । यस्तोमा सुदूरपश्चिममा अब कुन दलका कुन नेता प्रभावशाली होलान् भन्नेलाई पनि चासोपूर्वक हेरिन थालिएको छ ।

२०७४ सालको निर्वाचन एमाले–माओवादी एक भएर लडे । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिँदा त्यसको प्रतिफल पनि उनीहरूका लागि सकारात्मक नै आयो । तुलनात्मक रूपमा कांग्रेस बलियो मानिएको सुदूरपश्चिम प्रदेशमा पनि वाम गठबन्धनले वर्चस्व जमायो । प्रतिनिधिसभाका १६ सिटमध्ये १४ सिटमा वम गठबन्धन (११ एमाले र ३ माओवादी)ले जित निकाल्न सफल भयो । कांग्रेस भने एक सिटमा सीमित हुन पुग्यो । डडेल्धुराबाट कांग्रेस सभापति शेरबहादुर देउवा मात्रै विजयी भए । कैलाली– १ बाट राजपाबाट लडेका रेशम चौधरी निर्वाचित भए ।

२०७९ सालको निर्वाचनमा माओवादी केन्द्रले कांग्रेससँग गठबन्धन गर्‍यो । एमालेबाट विभाजित एकीकृत समाजवादी पनि कांग्रेस–माओवादीकै गठबन्धनमा सामेल भयो, जसका कारण २०७४ सालको नतिजा पनि उल्टियो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ११ सिट जितेको एमाले पछिल्लो चुनावमा दुई सिटमा खुम्चियो । कञ्चनपुर क्षेत्र नम्बर १ बाट तारा लामा तामाङ र बैतडीबाट दामोदर भण्डारीबाहेक कुनै पनि उम्मेदवारले चुनाव जित्न सकेनन् ।

२०७९ सालको निर्वाचनमा एमाले कमजोर हुनुको पछाडि गठबन्धन मात्रै थिएन । एमालेका सदावहार कमान्डर मानिने भीम रावल चुनावी मैदनमा थिएनन् । अछाम– १ बाट रावलको नाम सर्वसम्मत सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएनन् । माओवादीबाट एमालेमै रहेका झपट बोहराले सो क्षेत्रबाट टिकट पाए । टिकट नपाएपछि रावल एमालेका उम्मेदवार जिताउन लागेनन्, जसको क्षति एमालेले सुदूरपश्चिममा व्यहोरेको आकलन पनि गरिन्छ ।

दुई सिटमा सीमित हुँदा एमालेबाटै विभाजन भएर बनेको एकीकृत समाजवादीले भने प्रतिनिधिसभातर्फ शतप्रतिशत नतिजा निकालेको थियो । सुदूरपश्चिममा तीन सिटमा निर्वाचन लडेको एकीकृत समाजवादी तीनै सिटमा विजयी भएको थियो । डोटीबाट प्रेम आले, बझाङबाट भानुभक्त जोशी र अछाम– २ बाट शेरबहादुर कुँवर विजयी भएका थिए । वाम गठबन्धनको भरमा २०७४ सालको निर्वाचनमा ३ सिटमा जित निकालेको माओवादी केन्द्र भने २०७९ सालको निर्वाचनमा निल भयो । कांग्रेसका लागि भने माओवादी र एकीकृत समाजवादीको गठबन्धन फलिफाप नै भएको थियो । ८ सिटमा जित निकाल्दै प्रदेशमा पहिलो दल बनेको थियो कांग्रेस । टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले पनि तीन क्षेत्रमा जित निकालेको थियो ।

प्रत्यक्षतर्फ दुई सिटमा सीमित भए पनि समानुपातिक मतमा भने सबैभन्दा अगाडि थियो, नेकपा एमाले । प्रदेशमा खसेको ८ लाख ९६ हजार ३८६ मतमध्ये एमालेले सबैभन्दा धेरै मत पाएको थियो । एमालेले २ लाख ७४ हजार ६७५ मत पाउँदा कांग्रेसले एमालेभन्दा ५ हजार १११ मत कम अर्थात् २ लाख ६९ हजार ५६४ मत पाएको थियो । समानुपातिकमा तेस्रो भएको माओवादी केन्द्रको मत १ लाख २१ हजार ४३१ मत पाएको थियो ।

एकीकृत समाजवादीले भने ४३ हजार ८१९ मत पाएको थियो । एकीकृत समाजवादीभन्दा अगाडि नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी थिए । ०७९ सालको निर्वाचनमा दलहरूले पाएको समानुपातिक मतलाई आधार मान्दा अहिले बनेको नेपाली कम्युनिस्ट पार्टीभन्दा बलियो एमाले नै देखिन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा पनि सवा लाखभन्दा बढी मत एमालेको हुन्छ ।

अहिले नेपाली कम्युनिस्ट पार्टीमा भीम रावलको आगमनले कार्यकर्तामा ऊर्जा र उत्साह देखिन्छ । पार्टी विभाजनपछि रावल निकट मानिने अधिकांश नेताहरू एकीकृत समाजवादीमा गएक थिए । रावल नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आएपछि अहिले उनीहरूको पुनर्मिलन पनि भएको छ । रावललाई नै प्रदेशको कमान्डर बनाएर चुनावी मैदानमा होमिने तयारीमा नेपाली कम्युनिस्ट पार्टी छ ।

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता त्रिलोचन भट्ट अहिले नै शक्ति मापन गर्ने बेला भइनसकेको बताउँछन् । ‘भर्खर दर्जन बढी पार्टीबीच एकता भएको छ,’ भट्टले भने, ‘अहिले नै तहगत कमिटी बनिसकेको अवस्था छैन । ती कमिटी बनिसकेपछि कार्यकर्ता र नागरिकमा कस्तो सन्देश जान्छ भन्ने कुरा मुख्य हो ।’ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र र एकीकृत समाजवादीको जनमत राम्रै भएको बताउँदै नेता भट्टले त्यसको प्रतिफल चुनावमा पनि राम्रै आउने दाबी गरे ।

यता एमालेमा भने सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी पूर्वमाओवादी लेखराज भट्टको काँधमा छ । भट्टलाई अहिले पनि कतिपय एमाले नेताहरुले स्वीकार गरेको अवस्था देखिन्न । जुन कुरा एमालेका छलफल बैठकमा स्वय भट्टले पनि बताउने गरेका छन् । एमालेभित्र सुदूरपश्चिममा प्रभावशाली मानिएका कर्ण थापाको भूमिका कस्तो रहन्छ भन्ने विषयले पनि प्रभाव पार्ने देखिन्छ । उनी निरन्तर रूपमा पार्टी नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । यता एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्द भने एकीकृत समाजवादी र माओवादी केन्द्रसँगै दर्जन बढी दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकतामै आशंका गर्छन् ।

तर, एमाले नै विवादरहित छैन । ११औँ महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । पोखरेललाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ । यस्तोमा महाधिवेशनको समीकरणले आगामी एमालेको आन्तरिक समीकरण झन् बढी खलबलाउने आकलन भइरहेको छ । किनकि भण्डारी पक्षधरका नेताको उपस्थिति सुदूरपश्चिममा बाक्लो छ ।

‘कैलालीमा मात्रै एकीकृत समाजवादीको जिल्ला अध्यक्ष, सचिवसहित बहुमत जिल्ला कमिटीले नवगठित पार्टीमा नजाने निर्णय नै गरिसकेका छन्,’ चन्दले भने, ‘केन्द्रमा एकता भने पनि जिल्लातहमा त्यस्तो छैन । ढिलो भए पनि साविक एकीकृत समाजवादीका नेता–कार्यकर्ता एमालेमा आउँछन् ।’

नवगठित नेपाली कम्युनिस्ट पार्टीले एमाले शक्तिमा ठुलै क्षति पुर्‍याउने विश्वास चन्दको छैन । ‘उक्त पार्टीमा जोडिएका भीम रावलले एमालेलाई पुर्‍याउनुपर्ने क्षति पहिले नै पुर्‍याइसकेको अवस्था हो,’ उनी भन्छन्, ‘रावलको पछि लाग्नेहरुले मातृभूमि जागरण अभियान सुरु गर्दा नै पार्टी छोडिसकेका थिए । त्यो बेला एमालेमै बसेकाहरु कसैले पनि पार्टी छोड्दैनन् ।’

सुदूरपश्चिममा लामो समय प्रभाव जमाएका सबैभन्दा ठूला नेता शेरबहादुर देउवा अब बिस्तारै कांग्रेसको नेतृत्वबाट बिदा लिँदै छन् । यस्तोमा सुदूरपश्चिममा अब कुन दलका कुन नेता प्रभावशाली होलान् भन्नेलाई पनि चासोपूर्वक हेरिन थालिएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रवार १३:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको