विवाद मिलाउन मध्यधारको कमान्ड नलिएका शेखर कोइराला



काठमाडौँ , मंसिर १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पार्टी नै मुख्यालय सानेपामा बन्धक हुँदा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला ले भनेका छन्– ‘२१ फागुनको चुनावमा जाँदा नयाँ नेतृत्वमा जानुपर्छ ।’

यसलाई उनले रणनीतिक रुपमा अघि बढाइरहेका छन् । विगतदेखि नै मंसिर २०८२ मा १५औँ महाधिवेशन हुनुपर्छ भनेर वकालत गरेका उनले त्यसको लागि वातावरण बनाउन भने दबाब दिएनन् । पार्टीको फोरममा प्रश्न उठाए पनि उनको प्रश्न छायामा परेको देखियो । अब शेखर भन्दैछन्– ‘नियमित महाधिवेशन मंसिर मसान्तमा सकिँदैन भने पुस मसान्तमा गरौँ । कुनै हालतमा नयाँ नेतृत्वमा चुनावमा जाऔँ ।’

कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै गत २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएपछि त्यसमा लिइने निर्णयमा पनि कांग्रेसमा चासो छ । यसमा शेखरले भनिरहेका छन्, ‘पुस मसान्तमा नियमित महाधिवेशन गर्न सकिँदैन भने विशेष महाधिवेशनमा जाने निर्णय जारी केन्द्रीय समितिले गर्नुपर्छ ।’

सानेपास्थित पार्टी कार्यालयमा बन्धक बनेको कांग्रेसलाई देउवाले चुनदेवीमा बन्धक बनाउन पुगेका छन् । यसमा कोइरालाले आफ्नो एजेन्डामा सहमत गराउन सक्रिय रुपमा दबाब दिएका छैनन् ।

शेखरलाई विशेष महाधिवेशनको नेतृत्व लिएर सभापति बन्न महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले अफर गरेका थिए । तर, यसमा उनी तयार भएनन् । सबैको साझा मत भएको खण्डमा मात्र आफू सो अफर स्वीकार गर्न तयार रहेको सन्देश कोइरालाले निकटहरूसँग दिने गरेका छन् । सभापति शेरबहादुर देउवा सिंगापुरमा रहेको बेलामा समेत महामन्त्रीहरूले नेतृत्व लिएर अघि बढ्न आग्रह गरेका थिए । तर, विशेष महाधिवेशनको एजेन्डा बोक्दा पार्टी विभाजनको खतरा हुने र त्यसको जिम्मा आफूले लिनुपर्ने जोखिम देखेर कोइराला पछि हटेका छन् ।

‘महामन्त्रीज्यूले विशेष महाधिवेशन गर्ने कामको नेतृत्व लिएर अघि बढ्नुस् भन्दा शेरबहादुर देउवालाई मात्र हटाएर म सभापति हुने हो भने बन्दिनँ भन्नुभयो,’ एक पदाधिकारीले शिलापत्रसँग भने, ‘अब महामन्त्रीहरूलाई विशेष महाधिवेशनको एजेन्डामा खुलेर काम गर्न सजिलो भयो । शेखर दाइ महाधिवेशनको आफ्नो ए जेन्डामै हुनुहुन्छ ।’

कोइरालाले सभापति शेरबहादुर देउवालाई पनि विशेष महाधिवेशनमा जान नहुने र नियमित महाधिवेशन पुस मसान्तभित्र गर्नुपर्ने बताएका छन् । ‘हस्ताक्षर सनाखतमा जानै हुँदैन । नियमित महाधिवेशन पुसभित्र गर्नेगरी तालिका ल्याउनुपर्छ भनेर सभापतिज्यूलाई पनि शेखर दाइले भन्नुभएको छ,’ शेखरनिकट कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले  भने, ‘सभापति नियमित अधिवेशनको लागि तयार हुनुहुन्छ, कसले रोकिरहेको छ थाहा छैन ।’

कांग्रेसमा १५औँ महाधिवेशनको मितिको लागि भएको लफडाले केन्द्रीय समिति बैठक गत असोज २८ बाट सुरु भए पनि निष्कर्षमा पुग्न सकिरहेको छैन । सभापति देउवाले अग्रसरता लिएर समस्या समाधान गर्न निरन्तर छलफल गरिरहे पनि निष्कर्ष निकाल्न सकेका छैनन् । सानेपास्थित पार्टी कार्यालयमा बन्धक बनेको कांग्रेसलाई देउवाले चुनदेवीमा बन्धक बनाउन पुगेका छन् । यसमा कोइरालाले आफ्नो एजेन्डामा सहमत गराउन सक्रिय रुपमा दबाब दिएका छैनन् ।

पार्टीमा मध्यमार्गी धारबाट समाधान खोज्ने काम गरे पनि उनले विशेष महाधिवेशन पक्षधर र चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने पूर्वपदाधिकारीलाई मिलाएर देउवाकहाँ निचोड निकाल्ने प्रयास गर्नुपर्ने हो । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पनि कोइरालाले तालमेल मिलाएर काम गर्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मा पाउनुअघि र पाएपछि पनि खड्काले कोइरालासँग भेट गरेका छन् । त्यतिबेला पनि उनले महामन्त्रीहरूले पार्टी बिगार्न लागे भन्ने सन्देश लिएर खड्का पुग्दा सहमतिमा काम गर्न सुझाएका थिए ।

कार्यवाहक सभापतिले विशेष महाधिवेशन पक्षधर र महामन्त्रीले पार्टीमा बिग्रह ल्याउँदैछन् भनेर आरोपित गर्दा चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने अडानमा रहेका पूर्वपदाधिकारीहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, शशांक कोइराला र प्रकाशशरण महतको सर्त पनि बिग्रह ल्याउन जिम्मेवार छ भनेर बुझाउन सकेनन् । वरिष्ठ नेता भएकाले कुरा बुझाउन गाह्रो भए पनि उनीहरूले लिएको अडान समयसापेक्ष छ कि छैन भने र विश्लेषण गरेर बुझाउने भूमिकामा कोइराला कमजोर देखिए । उनले विशेष महाधिवेशनमा जान हुँदैन भनिरहँदा नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्छ भन्ने सन्देशलाई कार्यकर्तासम्म पुग्ने गरी प्रवाह गर्न सकेनन् ।

‘पुस मसान्तभित्र नियमित महाधिवेशन गर्न सकिन्छ र हुनैपर्छ । चुनावअघि महाधिवेशन नहुँदा पार्टीलाई क्षति हुन्छ,’ कोइरालानिकट केन्द्रीय सदस्य रामनाथ अधिकारीले भने, ‘उहाँले लिनुभएको उद्देश्य नै निर्वाचनअगाडि कुनै पनि अवस्थामा महाधिवेशन सम्पन्न भइसक्नुपर्छ भन्ने हो । डेढ महिना केन्द्रीय समितिले समय गुजारिसक्यो ।’

शेखरले देउवालाई पुस मसान्तको सीमा ख्याल नगरिए विशेष महाधिवेशन स्वतस् सक्रिय हुने भन्दै सचेत गराएको उनले बताए । ‘पुस मसान्तभित्र महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन स्वत: सक्रिय हुन्छ । नियमित महाधिवेशन गर्नुहोला भन्नुभएको छ । गरेका हस्ताक्षरको सनाखत गर्नु बेठिक हो,’ अधिकारीले भने ।

कांग्रेसको विशेष महाधिवेशन हस्ताक्षर अभियानका नेताहरूले महाधिवेशनको कार्यतालिका मात्र नमागेर महाधिवेशन खोजेको बताएका छन् । अभियानको तर्फबाट बिहीबार जारी विज्ञप्तिमा चुनाव अघि पुरानो शक्ति नभएर नयाँ नेतृत्व खोजेको बताइएको छ । ‘हामीले केवल महाधिवेशनको कार्यतालिका मागेका होइनौँ । हामीले महाधिवेशन मागेका हौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले चुनावअघिको शक्ति व्यवस्था होइन, नयाँ नीति र नयाँ नेतृत्व खोजेका हौँ ।’

कुनै बाहनामा विशेष महाधिवेशनको माग निष्क्रिय नुहने उनीहरूको दाबी छ । ‘कुनै पनि बाहना वा अविश्वसनीय नियमित महाधिवेशनको तालिकामा विशेष महाधिवेशनको माग निष्क्रिय हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान कार्यसमितिको समयावधि थप नगरी नियमित महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्व निर्वाचित हुने भएमा मात्र विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुनेछ । अन्यथा, पार्टी विधानले दिएको वैधानिक अधिकार विशेष महाधिवेशन कसैले पनि रोक्न वा अतिक्रमण गर्न पाउँदैन ।’

‘विधानभन्दा माथि कोही छैन । पार्टी नेता कार्यकर्ताको मनोबल उकास्ने गरी चुनावमा जाने नेतृत्व चाहिएको छ । पार्टीको संरचनागत सुधार गर्ने गरी चुनावमा जानुपर्ने छ भनेर अधिवेशन माग गरेका हौँ,’ नेता देवराज चालिसेले भने, ‘महाधिवेशन समयमै सम्पन्न नहुने दिशामा गयो । समयमै विशेष महाधिवेशन गरेर, जनअपेक्षाको नीति अख्तियार गरेर बलियो र सच्चिएको कांग्रेस लिएर चुनावमा जाने कुरा गरिरहेका छौँ । डेढ महिनादेखि अलमलिएको छ ।’

चालिसेले निर्णय गर्नसक्ने नेतृत्व लिएर चुनावमा कसरी जाने भन्ने विषयमा ध्यान केन्द्रित हुनुपर्ने पनि बताए । ‘विशेष महाधिवेशनको अनिवार्यतालाई आत्मबोध गर्दै निर्णय गर्न नसक्ने नेतृत्व लिएर चुनावमा कसरी जाने रु यसमा गम्भीर हुनुपर्छ’, उनले भने, ‘दुई दिनमा गर्न सकिने निर्णय डेढ महिनासम्म गर्न नसक्ने नेतृत्व सक्षम नेतृत्व त होइन । यही कारणले विशेषको महसुस भइरहेको छ । हस्ताक्षरकर्ताको विषयमा छलफल गर्ने गरी विशेष महाधिवेशन बोलाइयोस् ।’

यस्तो अवस्थामा कोइरालाले सभापतिलाई बैठक बोलाएर निष्कर्ष ननिकाल्नेभन्दा पनि आफ्नो कुरामा पार्टीको सबैको जित हुने ठाउँ भेटिने भएकाले सोही विकल्पमा निर्णय गराउने दबाब दिनुपर्ने हो । किनकि, देउवासँग कति समय संगत गरेका नेताहरू छन् भन्दा पनि १४औँ महाधिवेशनमा दोस्रो चरणमा सभापतिको लागि प्रत्यासी नेता आफू रहेको र मतपेटिकाको तत्कालीन समयको हारभन्दा पनि अहिलेको आवश्यकताको बारेमा देउवाई बुझाएर निर्णय गराउने ठाउँमा छन् कोइराला ।

 

प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रवार १२:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको