एकता र सहकार्यका लागि तमलोपाको अपिल



जनकपुरधाम , मंसिर १२ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष वृषेशचन्द्र लालले मधेस, थरुहट तथा आदिवासी जनजातिको पहिचान, सम्मान र अधिकारको सुनिश्चितताका लागि सबै शक्तिहरूलाई एकता र सहकार्यका लागि आग्रह गरेका छन्।

शुक्रबार जारी विज्ञप्तिमार्फत उनले संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूबीच सार्थक संवाद गरी पार्टी एकता वा सहकार्यको बाटो अपनाउन आग्रह गरेका हुन्। उनले पहिचान र समान नागरिक अधिकारका लागि संघर्षरत शक्तिहरूलाई कमजोर बनाउने खालका आन्तरिक तथा बाह्य षड्यन्त्र भइरहेको उल्लेख गर्दै त्यसविरुद्ध एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन्।

‘मधेस, थरुहट र आदिवासी जनजातिसहित संघीयतावादी शक्तिहरूबीच एकता अपरिहार्य छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आ–आफ्नो न्यायपूर्ण एजेन्डाप्रति प्रतिबद्ध रहँदै सार्थक संवादका माध्यमबाट अगाडि बढ्न सबैलाई अपिल गर्दछु।’

महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट अलग भएर तामलोपा पुनर्गठन गरेका लालले विचार र एजेन्डा मिल्ने सबै दलसँग छलफल र सहकार्यका लागि आफूहरू तयार रहेको बताएका छन्।

केही दिनअघि लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टी छाडेर गएकाहरूलाई पुनः फर्किन आह्वान गरेपछि तमलोपा अध्यक्ष लालको यो अपिल आएको हो।

अध्यक्ष लालले सम्भव भएसम्म पार्टी एकता गर्न, नभए आगामी निर्वाचनमा एउटै चुनाव चिन्ह प्रयोग गरी संयुक्त रूपमा सहभागी हुनुपर्ने खाँचो औंल्याएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर १३, शुक्रवार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको