जनकपुरधाम, मंसिर १३ । नेकपा एमालेले आगामी एघारौँ महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट प्रक्रिया सञ्चालन गर्दैछ।
एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै संघीय निर्वाचन क्षेत्रमा प्रतिनिधि चयनका लागि मनोनयन प्रक्रिया सम्पन्न भएको थियो। केही क्षेत्रमा सहमति भइसके पनि सहमति नभएका क्षेत्रमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ। अधिकांश ठाउँमा मतदान समय दिउँसो २ बजेसम्म निर्धारण गरिएको छ। विभिन्न जिल्लाले स्थानीय सुविधा अनुसार समय तोकेका छन्।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित तथा युवा गरी करिब २ हजार प्रतिनिधि छनोट हुनेछन्। यस्तै प्रवास, जनसंगठन तथा विभागहरूबाट थप करिब १ सय प्रतिनिधि चयन हुने व्यवस्था छ। यससँगै करिब २२ सय मनोनित प्रतिनिधि महाधिवेशनमा सहभागी हुने अनुमान गरिएको छ।
एमाले सचिवालयको निर्णयअनुसार प्रत्येक प्रतिनिधिसभा क्षेत्रका १२०० संगठित सदस्यबाट खुलातर्फ दुई तथा महिलातर्फ एक प्रतिनिधि निर्वाचित गर्नुपर्नेछ। छानिएका प्रतिनिधिमध्ये एक जना अनिवार्य रूपमा ४० वर्षभन्दा कम उमेरका युवा हुनु पर्ने विधि तय गरिएको छ।
त्यसकै आधारमा प्रति ८०० सदस्यबाट एक महिला प्रतिनिधि, प्रति ५०० सदस्यबाट एक दलित प्रतिनिधि, ट्रेड युनियनमा प्रत्येक प्रदेशबाट ७ प्रतिनिधि, जनसंगठनबाट प्रति संगठन ५ प्रतिनिधि, महासंघीय संरचना भएका जनसंगठनबाट ७ प्रतिनिधि रहने छन्।
विभाग र कार्यालयबाट एक–एक प्रतिनिधि तथा प्रवासबाट प्रत्येक महादेशमा पाँच–पाँच प्रतिनिधि रहने व्यवस्था छ।
यसबाहेक केन्द्रीय कमिटीबाट ३५४, अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५ र सल्लाहकार परिषद् बाट २५ गरी ४६४ जना स्वतः प्रतिनिधि हुनेछन्।
एमालेमा कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्य रहेकोमा प्रदेश, प्रतिनिधिसभा क्षेत्र, दलित, प्रवास, जनसंगठन र विभाग गरी करिब १९ सयभन्दा बढी निर्वाचित प्रतिनिधि रहने अनुमान छ। साथै पाँच प्रतिशत प्रतिनिधि केन्द्रीय कमिटीले मनोनयन गर्नेछ। सबै मिलाएर प्रतिनिधि संख्या २१ सयभन्दा बढी पुग्ने आकलन गरिएको छ।
केन्द्रीय संगठन विभागले सिफारिस गरी सचिवालयबाट पारित प्रतिनिधि छनोट विधि सम्बन्धित सबै कमिटीमा पठाइसकिएको गौतमले बताए।




