मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक र समाजिक परिवर्तन हुन सकेन : उपेन्द्र यादव



जनकपुरधाम, मंसिर १३ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा पटक पटक राजनीतिक परिवर्तन भएपनि आर्थिक र समाजिक परिवर्तन हुन नसकेको बताएका छन ।

दलित , पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोटिम) परिसंघको धनुषा जिल्ला स्तरीय वृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष यादवले राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने भन्दै आर्थिक र समाजिक परिवर्तनको दिशामा अघि बढनु आवश्यक रहेको बताए ।

अध्यक्ष यादवले अबको क्रान्ति आर्थिक र समाजिक रुपान्तरणको लागि हुनु पर्ने उल्लेख गर्दै ती क्रान्तिको नेतृत्व डोटिम परिसंघले लिनु आवश्यक रहेको बताए ।

समाजको तल्लो अवस्थामा रहेका वर्ग र समुदायको अवस्थामा परिवर्तन नभए सम्म राजनीतिक परिवर्तनको कुनै अर्थ नहुने उल्लेख गर्दै अध्यक्ष यादवले समाजमा रहेको विकृति विसंगतिको अन्त्य भए सम्म लोकतन्त्रको कुनै अर्थ नहुने बताए ।

दलित, पिछडावर्ग, अल्पसंख्यकहरुको राजनीतिमा भागिदारी र सत्तामा साझेदारी नभए सम्म सार्थक लोकतन्त्रको परिकल्पना समेत गर्न नसक्ने भन्दै अध्यक्ष यादवले समाजिक लोकतन्त्रको लागि अघि बढनु पर्ने बताए ।

दलित, पिछडावर्ग, अल्पसंख्यकहरु छुट्टा छुट्टै लडेर समानताको अधिकार पाउन नसक्ने भन्दै उनले एकजृुट भएर लडनका लागि डोटिम परिसंघ साझा मञ्च निर्माण भएको बताए ।

डोटिम परिसंघका केन्द्रिय संयोजक चन्देश्वर पासवानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा परिसंघका सल्लाहकार डा. पिके ठाकुरले डोटिम स्थापनाको उद्देश्य र अगामी कार्यदिशाबारे आफनो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्लाभरिका परिसंघ आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०८२ मंसिर १४, शनिवार १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको