जनकपुरधाम, मंसिर १३ । जानकी मन्दिरका तथाकथित उत्तराधिकारी महन्त राम रोशन दासले जनकपुरका नेता, मन्दिरका महन्त र गुठीका हाकीमहरुले गुठीको जग्गा बेचबिखिन गरेको आरोप लगाएका छन् । जनकपुरधाममा प्रत्येक दिन गुठीको जग्गामा नयाँ संरचनाहरु बन्दा पनि गुठीले कुनै चासो नलिने गरेको उनको आरोप छ ।
आफूलाई ठूला नेता भनाउनेहरुले जनकपुरधामका हजारौं विघा जग्गा बेचेको र कव्जा गरेर राखेको गुनासो उनले गरेका छन् । मन्दिरका महन्तहरुले हजारौं जग्गा विक्री गरेको आरोप लागि रहेको बेला आफूलाई तथाकिथत उत्तराधिकारी भनाउने रोशन
दासले जनकपुरधामका ठूला नेताहरुले गुठीको जग्गा बिक्री गरेको आरोप लगाए पछि यहाँको माहोल अहिले तातेको छ ।
जनकपुरधामका जानकी मन्दिर अधिनस्त मात्रै हजारौं विघा जग्गा थियो तर अहिले जानकी मन्दिर संग विघामा मात्रै जग्गा रहेको छ । सवै यहाँका महन्त र नेताहरुको मिलिमतोमा सो जग्गाहरु बिक्री भएको उनको आरोप छ ।
आफूलाई उत्तराधिकारी भनाउने रोशन दासले आफै फर्जी कागजातहरु पेश गरेर उत्तराधिकारी बनेदेखि जानकी मन्दिरवाट चन्दा माग्ने नदिनेहरुलाई ठाडै अपमानित गर्ने गरेको पाइएको छ । विवाहपञ्चमीमै तत्कालीन मुख्यमन्त्रीहरुले आर्थिक सहयोग गर्दा उनिहरुलाई सम्मान गरिएको थियो तर वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले अदालतले रोक लगाएका कारण मन्दिरलाई आर्थिक सहयोग गर्न नसकेपछि उनलाई अपमानित गरेर जानकी मन्दिरवाट विदाई गरिएको थियो । मधेश प्रदेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गरेर नै जानकी मन्दिरमा राजनीति भई रहेको र मन्दिरमा राजनीति नगर्न आग्रह गरेका थिए ।
उत्तराधिकारी महन्त बन्नकालागि गुठी संस्थानको विधान बमोजिम रोशन दास बन्न नसक्ने देखिए पनि उनी आफूलाई उत्तराधिकारी महन्त भन्दै आएका छन् । गुठीको विधान अनुसार मन्दिरका महन्तको सिफारिसमा गुठी संस्थानले उत्तराधिकारी महन्त नियुक्त गर्ने प्रावधान रहे पनि रोशनले फर्जी कागजातहरु खडा गरेर आफू नै उत्तराधिकारी महन्त रहेको दावी गर्दै आएका छन् । मन्दिरका महन्त तपेश्वर दासले एक मिडियालाई दिएको अन्तर्वातामा रोशन दास उत्तराधिकारी महन्त नरहेको स्पष्ट पारेका छन् ।
मन्दिरलाई राजनीतिकरण गर्ने, आफूले गरेको अनियमितता भ्रष्टाचार जस्ता जगन्य अपराधलाई नेता, महन्त र गुठीको हाकीमको टाउकोमा राखेर आफूलाई चोखो सावित गर्ने गरेका रोशन दासले लक्ष्मण मन्दिरको ११ वटा सटर, जानकी मन्दिरमा रहेको म्युजियम, जानकी मन्दिरको उत्तरपट्टि रहेको विवाहमण्डप, जानकी चोकको फूटपाथमा रहेको पसलवाट बट्टि र तुलसी स्मारकमा रहेको १२ वटा सटरको मासिक लाखौं रुपैयाँ अनियमितता गर्दै आएका छन् ।




