श्याम कुमार ठाकुर
दस वर्षको लामो मौनता, दशकभर व्यापारीले सहनुपरेको बेवास्ता, असुरक्षा, सरकारी ढिलासुस्ती, अन्यायपूर्ण कर थोपर्ने प्रवृत्ति, नेतृत्वको कमजोर हस्तक्षेप, यी सबैको चोट मिर्चैयाका व्यापारीहरू आज पनि बोकेर हिँडिरहेका छन्। अब त्यो पीडा सहने शक्ति सकिएको छ।
त्यसैले, १० वर्षपछि पुनः हुन लागेको मिर्चैया उद्योग वाणिज्य संघको चुनाव साधारण प्रतिस्पर्धा होइन—व्यापार, प्रतिष्ठा र अधिकार बाँच्ने लडाइँ बनेको छ।
व्यापारीहरूको स्वर आज कडा, आक्रमक र निडर छ, “रोईधोई सुनिदिने होइन, हाम्रो हकका लागि उभिने नेतृत्व चाहिन्छ। हामी भावनामा हैन, संघर्षमा साथ दिन सक्ने मान्छे खोज्छौं।” विगतका वर्षहरूमा संघ निष्क्रियजस्तै भयो।
अनियमित बजार निरीक्षण, प्रशासनसँग कमजोर समन्वय, करका नाममा असहज दबाब, सुरक्षाको अभाव, अनि समस्यामा परेको व्यापारीलाई ‘सुन्याझैं’ गर्नेलाई अब मिर्चैयाले स्वीकार गर्ने अवस्था छैन।
व्यापारीहरूको आवाज झन् तीक्ष्ण छ, “संघ उनैका हातमा दिन मिल्दैन, जसले व्यापारको घाउ देख्दैन, जसलाई व्यापारीको रात–दिनको संघर्ष थाहा छैन।”
अब उनीहरूको अपेक्षा यसरी खरो बनेको छ, सरकार वा प्रशासन अन्याय गरे नतमस्तक होइन—जवाफ दिने नेतृत्व, संघलाई समूह, जात, गुट, पहुँचको अखडा बनाउने होइन—सम्पूर्ण व्यापारीको शक्ति केन्द्र बनाउने व्यक्ति, कागजमा होइन—म मैदानमा छु भनेर ‘कानुन, कर, सुरक्षा, बजार’ सबै समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने, पारदर्शिता, जवाफदेहिता, इमान—यी शब्द बोल्छन् मात्र होइन, कारबाही गरेर साबित गर्ने नेतृत्व चाहिन्छ ।
व्यापारीहरूबीच एक वाक्य अहिले तुफानझैँ फैलिएको छ, “हामीलाई फोटोमा देखिने नेता होइन, भिडमा हाम्रो लागि उभिने नेता चाहिएको छ।”
मिर्चैयाको आर्थिक धमनिमा वर्षौँदेखि रोकिएको गति, व्यापारीहरूको बिचल्ली, बजारमा बढेको डर—यी सबैलाई हटाउने काम कागजले होइन, निर्भीक नेतृत्वले मात्र गर्छ।
त्यसैले यो चुनाव कसले जित्छ ? त्यो सवाल गौण छ।
मुख्य प्रश्न छ, “कसले व्यापारीको व्यथा कागजमा होइन, व्यवहारमा बोक्छ ?” १० वर्षपछि आएको यस ‘अवसर’ अब गल्ती सहनसक्ने ठाउँ होइन।
यो चुनाव नेतृत्व फेर्ने कार्यक्रम मात्र होइन ? मिर्चैयाको व्यापारिक भविष्य बचाउने निर्णायक संघर्ष, एक प्रकारको आर्थिक पुनर्जागरणको मोड हो।






