काठमाडौँ, मंसिर १४ । नेकपा (एमाले)को ११औँ महाधिवेशन का लागि कर्णाली प्रदेशबाट ११३ प्रतिनिधि छनोट भएका छन् । कर्णाली प्रदेश कमिटीले शनिबार २७–२९ मंसिरमा भक्तपुरको सल्लाघारीमा हुने महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाएको हो । १० वटै जिल्लाबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लागेको प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाहले जानकारी दिए ।
उनका अनुसार रुकुम पश्चिमबाहेक अन्य ९ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । यद्यपि, केही जिल्लाको बाहेक छानिएका प्रतिनिधिहरूको नाम सार्वजनिक भएको छैन । ‘रुकुम पश्चिमबाहेक अन्य जिल्लामा सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् । उहाँहरूको नामावाली आउनेक्रम जारी छ । आज नै नाम घोषणा हुन्छ,’ अध्यक्ष शाहले भने ।
कर्णालीमा एमालेका ४७ हजार संगठित सदस्य छन् । एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयअनुसार महाधिवेशन प्रतिनिधि छनोट भएको शाहले जानकारी दिए । कर्णालीबाट महाधिवेशनमा सहभागी हुने जिल्लागत प्रतिनिधिहरूमा हुम्लाबाट पाँच, दैलेखबाट २२, कालीकोटबाट आठ, सुर्खेतबाट २०, मुगुबाट पाँच, जाजरकोटबाट १० जना छन् । यस्तै, जुम्लाबाट छ, डोल्पाबाट आठ, रुकुम पश्चिमबाट पाँच, सल्यानबाट आठ जना महाधिवेशन प्रतिनिधि छनोट भएको शाहले बताए ।
उनका अनुसार मजदुर संगठनबाट सात, कर्णाली सम्पर्क मञ्चबाट चार र प्रदेश पार्टी कमिटीलाई पाँच प्रतिनिधि दिइएको छ । नीति र विधि निर्माणको काम २०–२२ भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनबाट भइसकेकाले यस महाधिवेशनले नेतृत्व चयनको काम गर्नेछ । महाधिवेशनमा दुई हजार ३०० को हाराहारीमा प्रतिनिधिहरूले भाग लिने एमालेले जनाएको छ ।
कर्णालीबाट एक्लिए ईश्वर पोखरेल
कर्णालीबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्दा अध्यक्षका प्रत्यासी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एक्लिएका छन् । छनोट भएका प्रतिनिधिहरू कोही पनि पोखरेलको पक्षमा नभई तत्काल अध्यक्ष ओली समूहमा देखिएका छन् । उनीहरूले एमालेको भावी अध्यक्ष ओलीको विकल्प नरहेको भन्दै पोखरेललाई साथ नदिने पक्षमा पुगेको सुर्खेतबाट महाधिवेशन प्रतिनिधि रहेका एक नेताले दाबी गरे । यद्यपि, प्रतिनिधि हुनका लागि नखुलेको पनि हुनसक्ने उनले बताए ।
‘हामी त केपी ओलीलाई नै अध्यक्ष बनाउनुपर्छ भनेर लागेका छौँ,’ उनले भने, ‘ओलीको विकल्प खोज्नेहरू अहिलेसम्म देखिएका छैनन् ।’ प्रतिनिधि मात्र होइनन्, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यसमेत पोखरेलको पक्षमा हालसम्म खुलेका छैनन् । कर्णालीबाट स्थायी कमिटी सदस्यमा दुई जना सुर्खेतका यामलाल कँडेल र हुम्लाका गोरखबहादुर बोगटी छन् ।
यस्तै, ब्युरो सदस्यहरूमा दैलेखका लक्ष्मीप्रसाद पोख्रेल मुगुका मोहन बानियाँ र जाजरकोटका भैरवसुन्दर श्रेष्ठ छन् । कर्णालीबाट २४ जना केन्द्रीय सदस्य रहेकोमा कालीकोटका प्रेमबहादुर सिंहले एमाले परित्याग गरिसकेका छन् । बाँकी २३ जना पनि अध्यक्ष ओलीको लाइनमा छन् । जसमा दैलेखका राजबहादुर बुढा, जाजरकोटका निरज आचार्य, दैलखका धर्मराज रेग्मी, सुर्खेतका नवराज रावत, रुकुम पश्चिमकी तीर्था गौतम, कालीकोटका नगिन्द्र शाही, जाजरकोटका डम्बरबहादुर सिंह, हुम्लाका दल रावल, हुम्लाकै दल फडेरा, दैलखका विष्णु रिजाल, डोल्पाकी बदमी क्वारी बुढा, सुर्खेतकी मोहनमाया ढकाल, दैलेखकी मिनासिंह रखाल, दैलेखकै सूर्यकुमारी श्रेष्ठ, जाजरकोटका सीपी घर्ती, कालीकोटकी दक्षिणा शाही छन् । यस्तै, जुम्लाका रतननाथ योगी, रुकुम पश्चिमका चन्द्रबहादुर विक, कालीकोटकी इन्दिरा सन्ज्याल, सर्खेतका ठम्मर विष्ट, हुम्लाका छक्कबहादुर लामा, दैलेखका विनोदकुमार शाह र सल्यानका गोविन्द पुन छन् ।
कँडेल र बोगटी पदाधिकारीको लाइनमा
आसन्न ११औँ महाधिवेशनमा कर्णालीबाट दुई जना पदाधिकारीको लाइनमा छन् । स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटी सचिव पदको लाइनमा छन् । वरीयताका हिसाबले हेर्ने हो भने बोगटीभन्दा कँडेल सिनियर हुन् । कँडेल चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदका दाबेदार थिए । तर, पछि सर्वसम्मत हुँदा उनलाई स्थायी कमिटीमा लगिएको थियो । १०औँ महाधिवेशनमा सचिव पदमा दाबी गरेका कँडेल यसपटक स्वतस् उम्मेदवार बन्ने उनीनिकट नेताहरू बताउँछन् ।
यस्तै, कँडेलसँगै बोगटी पनि यसपटक सचिव पदका दाबेदार मानिएका छन् । बोगटीले आफू सचिव पदमा उम्मेदवारी दिने विषय यसअघि नै कार्यकर्तामाझ खोलिसकेका छन् । केन्द्रीय कमिटी हुँदै पोलिटब्युरो सदस्यमा १० वर्ष बिताएका बोगटी चितवनकै महाधिवेशनबाट स्थायी कमिटी सदस्यमा बढुवा भएका थिए ।
कँडेल र बोगटीबीच पदाधिकारीमा प्रतिस्पर्धा भए कँडेल नै अघि आउने सम्भावना छ । किनभने, २०८० असारमा सम्पन्न एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट कँडेल र बोगटीबीचको शक्ति मापन भइसकेको छ । उतिबेला कँडेल र बोगटीको छुट्टाछुट्टै टिम हुँदा कँडेल टिमले प्रदेश कमिटीमा वर्चश्व जमाएको थियो । कँडेल हाल कर्णाली प्रदेशका मुख्यमन्त्री छन् भने, बोगटी एमाले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा छन् ।




