काठमाडौँ , मंसिर १४ । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको शनिबार अन्तिम दिन । सुदूरपश्चिममा पनि प्रतिनिधि छनोटका लागि ११ मंसिरमा नै उम्मेदवारी दर्ता गरेर प्रक्रिया थालिएको थियो । कतै सर्वसम्मत प्रतिनिधि छनोट गरिएको छ भने कतै सहमति जुट्न नसक्दा निर्वाचन नै भयो । निर्वाचन भएका क्षेत्रमा भने गुटगत राजनीति र एमालेभित्रको आन्तरिक विवादलाई सतहमा ल्याइदिएको छ । कैलालीका तीन र कञ्चनपुरका दुईवटा निर्वाचन क्षेत्रमा मतदान नै गरेर प्रतिनिधि छनोट गरिएको छ ।
सहमति जुट्न नसक्दा कैलाली–४ मा निर्वाचन प्रक्रियामार्फत छ जना प्रतिनिधि छनोट गरिएको छ । एमाले सुदूरपश्चिमका इन्चार्जसमेत रहेका केन्द्रीय सचिव लेखराज भट्ट र नेता दामोदर भण्डारी पक्षधरहरूले टिम बनएर उम्मेदवारी दर्ता गरेका थिए । लेखराज पक्षका उम्मेदवारलाई नेता कर्ण थापा र कैलाली इन्चार्ज नारदमुनि रानाले पनि साथ दिएका थिए । दामोदरलाई भने कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगानाको साथ थियो ।
प्रतिनिधि छनोटको निर्वाचनमा लेखराज, कर्ण र नारदमुनि पक्षका उम्मेदवार विजयी हुँदा दामोदरपक्षका उम्मेदवार भने पराजित भएका छन् । खुलातर्फ लेखराज–कर्ण–नारदमुनि पक्षका चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा प्रतिनिधि निर्वाचित भएका छन् । महिलामा रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह तथा युवामा सुद्धिराम चौधरी प्रतिनिधिमा निर्वाचित भएका छन् । कुँवर, सिंह र चौधरी पनि लेखराज–कर्ण–नारदमुनि पक्षका नेताहरू हुन् । पूर्वमन्त्रीसमेत रहेका भण्डारीका विश्वास पात्र आनन्दप्रसाद भट्टसहित उनका पक्षका सबै उम्मेदवार चुनाव हारेका छन् ।
दामोदर पक्षले कैलाली–४ को हारको बदला कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा लिएको छ, जहाँ लेखराज, कर्ण र नारदमुनिसहितको टिम स्वीप भएको छ । सुदूरपश्चिम प्रदेशमै चासोको साथ हेरिएको कैलाली–५ मा सहमति नहुँदा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको थियो, जहाँ जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना र पोलिटब्युरो सदस्यसमेत रहेका जिल्ला इन्चार्ज नारदमुनि राना प्यानलसहित चुनावी मैदानमा थिए ।
ढुंगानालाई पूर्वमन्त्री दामोदर भण्डारीको साथ थियो भने रानालाई सुदूरपश्चिम इन्चार्जसमेत रहेका केन्द्रीय सचिव भट्ट र नेता थापाको साथ थियो । निर्वाचन कमिटीले सार्वजनिक गरेको परिणामअनुसार खुलामा धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना विजयी भएका छन् । महिलामा अम्बिका विष्ट र रुकमणि देवकोटा तथा युवामा तीर्थराज भट्टराई विजयी भएका छन् ।
विजयी सबै उम्मेदवार दामोदर–ढुंगानापक्षका हुन् । राना टिमका सबै उम्मेदवार पारजित भएका छन् । रानाकी विश्वास पात्र धनगढीका उपमेयर कन्दकलाकुमारी राना पनि महाधिवेशन प्रतिनिधिको निर्वाचन पराजित भएकी छिन् । महिला क्लस्टरका चार उम्मेदवारमध्ये उनले सबैभन्दा कम मत ल्याएकी छन् ।
कैलाली– १ मा पनि निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ, जहाँ खुलामा द्वारिकाप्रसाद न्यौपाने र धुव्र खत्री, महिलातर्फ कमला शाही र युवामा लक्ष्मी आचार्य प्रतिनिधि चयन भएका छन् । खत्री र शाही पूर्वमाओवादी भएकाले लेखराज निकट मानिन्छ । तर, पछिल्लो समय दुवै नेताको निकटता दामोदरसँग पनि रहेको बताइन्छ ।
युवा क्लस्टरमा प्रतिनिधि छानिएकी आचार्य गायिका तथा मोडेल हुन् । उनी लेखराजनिकट नै मानिन्छन् । कैलालीमा गुट चलाइरहेका लेखराज, दामोदर, नारदमुनि र ढुंगाना एमाले अध्यक्ष केपी शर्मा ओलीपक्षका हुन् । कर्ण थापा भने ओलीविरोधी मानिन्छन् ।
कञ्चनपुरमा लेखराज, कर्ण र दामोदरको प्रभाव कम छ । त्यहाँ भीमदत्तका पूर्वमेयर सुरेन्द्र विष्ट, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल र नेता निरु पालले गुट चलाउँदै आएका छन् । पूर्वमुख्यमन्त्री रावल भने दामोदरनिकट मानिन्छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा रावलनिकटका सबै उम्मेदवार पराजित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ बाट खुलातर्फ डा। दीपकप्रकाश भट्ट र जनकराज अवस्थी विजयी भएका छन् ।
यसैगरी, दलिततर्फबाट आरपी सार्की र युवाबाट ओम बस्नेत प्रतिनिधि छनोट भएका छन् । विजयी डा। भट्ट भीम रावल एमालेमा हुँदा उनीनिकट मानिन्थे । अवस्थी भने विगतमा पूर्वमुख्यमन्त्री रावलपक्षका थिए । तर, प्रतिनिधि छनोटमा अवस्थीकाविरुद्ध रावलले उम्मेदवार खडा गरेका थिए ।
यस्तै, कञ्चनपुर–१ बाट खुलातर्फ पल्लवराज भट्ट र वीरबहादुर थापा निर्वाचित भएका छन् । थापा पूर्वमाओवादी भएकाले लेखराजनिकट मानिन्छन् । यस्तै, महिलातर्फ कमला चौधरी र कल्पना गिरी तथा युवातर्फ काशीराम बोहरा विजयी भएका छन् । त्यहाँ पनि पूर्वमुख्यमन्त्री रावलले समर्थन गरेका उम्मेदवार पराजित भएका छन् ।
नेता दामोदर भण्डारीले गृहजिल्ला बैतडीमा भने एकलौटी गरेका छन् । सर्वसम्मत भन्दै भण्डारीले १५ जना प्रतिनिधि आफ्नै पक्षका छनोट गरेका छन् । डडेल्धुरामा पनि उनी निकटकै पाँच जना प्रतिनिधि छनोट भएका छन् ।




