मौद्रिक नीतिको समीक्षापछि जेन–जी आन्दोलनबाट बिग्रिएको व्यवसायिक वातावरण सुध्रिने राष्ट्र बैकको दाबी



काठमाडौँ, मंसिर १५ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षापछि जेन–जी आन्दोलनले बिग्रिएको व्यवसायिक वातावरण क्रमशः सुधार हुने दाबी गरेको छ ।

सोमबार आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘जेन–जी आन्दोलनपश्चात् बनेको सरकारले सुशासन सुदृढ गर्दै व्यावसायिक वातावरण अनुकूल बनाउन गरेका नीतिगत प्रयास र यस बैंकले अवलम्बन गरेको मौद्रिक सहजताबाट अर्थतन्त्र क्रमशः सुदृढ हुँदै जाने अनुमान छ ।’

यस्तै अन्तर्राष्ट्रिय साख रेटिङ एजेन्सी फिट ग्रुपले हालै सम्पन्न गरेको नेपालको सार्वभौम साख रेटिङमा गत वर्षकै रेटिङ डबल बी माइनसलाई निरन्तरता दिएको पनि राष्ट्र बैंकले जनाएको छ ।

जेन–जी आन्दोलनको क्रममा केही होटलहरूमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक क्षेत्रमा राम्रो उत्साह देखिएको बैंकले जनाएको छ । यसअवधिमा बाह्य पर्यटक आगमन बढेको छ ।

नेपाल पर्यटन बोर्डबाट प्राप्त विवरणअनुसार सन् २०२४ को १० महिनामा ९ लाख ४१ हजार बाह्य पर्यटक भित्रिएकोमा सन् २०२५ को सोही अवधिमा करिब ९ लाख ४४ हजार बाह्य पर्यटक भित्रिएको तथ्यांक बैंकले प्रस्तुत गरेको छ ।

यस्तै, जलविद्युत् उत्पादनमा प्रगति भई आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रयमासमा थप ३०९.२ मेगावाट जलविद्यु राष्ट्रिय प्रसारण लाइनमा जोडिएको, सरकारले चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्चतर्फ मूलतः तयारी नपुगेका र साना आयोजनाहरू कटौती गरी राष्ट्रिय प्राथमिकता प्राप्त र सम्पन्न हुने चरणमा रहेका आयोजनाहरूको कार्यान्वयन एवं क्षतिको पुनर्निर्माणमा प्राथमिकता दिएकोले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।

यसको बाबजुद धानलगायत बर्सेबाली लगाउने समयमा मनसुन ढिलो सुरु भएको र त्यसको केही अन्तरालमा भारी वर्षा भएको कारण बाढीरपहिरोले कृषिलगायतका क्षेत्रहरू प्रभावित भएका छन् । समग्रमा चालु आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्यभन्दा केही कम रहने प्रारम्भिक अनुमान छ ।

पछिल्ला महिनाहरूमा भारतमा उपभोक्ता मुद्रास्फीति लक्ष्यभन्दा न्यूनस्तरमा रहँदै आएको छ । आर्थिक वर्ष २०२५र२६ मा भारतको मुद्रास्फीति २।६ प्रतिशतमा सीमित हुने भारतीय रिजर्भ बैंकको प्रक्षेपण छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा थप सहजता आउने नेपाल राष्ट्र बैंक प्रक्षेपण छ ।

आन्तरिक उत्पादनतर्फ धानलगायत बर्सेबालीको उत्पादन केही कम हुनुको साथै आगामी निर्वाचनमा हुने खर्चले मुद्रास्फीतिमा केही चाप पार्ने देखिन्छ । फलस्वरूप आर्थिक वर्ष २०८२र८३ मा औसत उपभोक्ता मुद्रास्फीति ४।० प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या क्रमिक रूपमा बढ्दै गएको छ । आयातको तुलनामा विप्रेषण आप्रवाहको विद्यमान प्रवृत्ति कायम रहेमा चालु आर्थिक वर्षको बाँकी अवधिमा समेत विदेशी विनिमय सञ्चिति सुविधाजनकस्तरमै रहने अनुमान छ ।

बैंकिङ क्षेत्रमा अधिक तरलता र न्यून ब्याजदरको अवस्था कायमै रहेको छ । निक्षेप तथा कर्जाका भारित औसत ब्याजदर निरन्तर घट्दै गएका छन् । तथापि, निक्षेपको भारित औसत वास्तविक ब्याजदर भने धनात्मक नै रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात बढ्दै गएता पनि औसत पुँजी पर्याप्तता अनुपात तोकिएको न्यूनतम सीमाभन्दा बढी रहेको छ ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको पछिल्लो अवस्था र वित्तीय क्षेत्रलगायत अर्थतन्त्रको उपयुक्त परिदृश्यको आधारमा आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिई केही नियामकीय व्यवस्थाहरूमा परिमार्जन गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति: २०८२ मंसिर १६, सोमवार ११:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको