जनकपुरधाम, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी निर्देशन विपरीत मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाको प्रदेशसभा सदस्यता खारेज गर्न प्रदेश सभामा पत्राचार गरेको छ।
समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य रहेकी बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले गठन गरेको मन्त्रिपरिषद्मा विना विभागीय मन्त्री बनेकी थिइन्। त्यसपछि मंसिर ८ गते उनलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकिएको थियो।
राप्रपाले बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो। निर्देशन मान्न अस्वीकार गरेपछि पार्टीले स्पष्टिकरण सोधेको र आन्तरिक प्रक्रिया पूरा गरी राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम कारबाहीको लागि प्रदेश सभामा सूचना प्रकाशन गर्न औपचारिक पत्र पठाएको जनाएको छ।
राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षर रहेको पत्र आइतबार प्रदेश सभा सचिवालयमा दर्ता भएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए। उपसभामुख बबिता राउत इशरले पत्र प्राप्त भएको पुष्टि गर्दै आवश्यक छलफलपछि सूचना प्रकाशित गरिने बताएकी छन्।




