दुई बजे विश्वासको मत लिने अडानमा मुख्यमन्त्री यादव, विकल्प खोज्दै प्रदेशसभा



जनकपुरधाम, मंसिर १७ । मुख्यमन्त्री सरोज कुमार यादवले दुई बजे विश्वासको मत लिने अडान लिएका कारण प्रदेशसभा बैठक शुरु हुन सकेको छैन ।

प्रदेशसभा सचिवालयले विहान साढे ८ बजे प्रदेशसभा बैठक आह्वान गरेपनि मुख्यमन्त्री यादवको अडानका कारण १० बजे सम्म बैठक सुचारु हुन सकेको छैन ।

बैठकका लागि विपक्षीदल सहित एमालेकै केही सांसद प्रदेशसभा भवन पुगेपनि मुख्यमन्त्री यादवको अनुपस्थितिको कारण बैठक सुचारु हुन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठक आह्वान भएको २ घण्टा भित्र बैठक सुचारु हुन नसके अर्को सूचना प्रकाशन गर्नु पर्ने हुन्छ । मुख्यमन्त्री अनुपस्थित रहेका कारण अर्को विकल्पमा समेत छलफल भएको सचिवालय स्रोतले जनाएको छ।

सर्वोच्च अदालतले २४ घण्टा भित्र मुख्यमन्त्रीलाई विश्वासको मत लिन र सो अवधीमा विश्वासको मत लिन नसके संविधानको धारा १६८को २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आदेश गरेको छ ।

सर्वोच्चको पत्र मंगलवार ११ बजेर १८ मिनेटमा प्रदेशप्रमुखको कार्यालयमा दर्ता भई सकेको हुदा सोको २४ घण्टा पछि नयाँ सरकार गठनको प्रक्रिया बढाउनु पर्ने दवावमा प्रदेश प्रमुखको कार्यालय समेत रहेको छ ।

तर मुख्यमन्त्री यादवले भने आफुलाई ३ बजे पत्र प्राप्त भएको दावी गर्दै २ बजे विश्वासको मत लिने अडानमा छन । विश्वासको मतको विषयलाई लिएर प्रदेशसभामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: २०८२ मंसिर १८, बुधवार १०:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको