सभापतिमा प्रतिस्पर्धा भए म पनि लड्छु : विमलेन्द्र निधि



काठमाडौं, मंसिर १७ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले आगामी १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। तर पार्टीलाई एकताबद्ध बनाउन सकिने हो भने सभापति पद निर्विरोध बनाउनुपर्ने उनको धारणा छ।

डेढ महिनादेखि चलिरहेको आन्तरिक बहसपछि कांग्रेसले पुस २६–२८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। निधि यसअघि चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा थिए। तर सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगको छलफलपछि उनी र उनको समूह पनि पुसमै महाधिवेशन गर्न सहमत भएको बताए।

“महाधिवेशन गर्ने निर्णय सर्वसम्मत भइसकेपछि अब हुँदैन भन्न मिल्दैन,” निधिले भने। उनको नेतृत्वमा रहेको समूह अहिले करिब ९० जनासम्म पुगेको छ र सभापति पदमा उम्मेदवारी दिने वा नदिने बारे छिट्टै निर्णय हुने उनले बताए।

निधिले पार्टीभित्रका केही नेताहरूले सभापति देउवालाई नै सक्रिय गराउँदै महाधिवेशन पुसमै गर्न दबाब दिएको दाबी गरे। “एकातिर देउवाजीलाई हटाउनुपर्छ भन्छन्, अर्कातिर उहाँकै आशीर्वाद खोज्छन्,” उनले कटाक्ष गरे।

उनका अनुसार शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विजय गच्छदार, ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेताहरू समूहमा जोडिँदै आएका छन्।

निधिले कांग्रेसले संविधान र लोकतन्त्र जोगाउने नेतृत्व दिनुपर्ने समय आएको बताएका छन्। “व्यक्तिमुखी प्रचार होइन, सहमतिको नेतृत्व चाहिएको बेला हो। सभापति निर्विरोध बने राम्रो हुन्छ, नभए प्रतिस्पर्धा गर्छु,” उनले भने।

विशेष महाधिवेशनबारे उनले भने, “केन्द्रीय समितिले नियमित महाधिवेशनको कार्यतालिका सर्वसम्मतिले पास गरिसकेको छ, विशेष महाधिवेशनको औचित्य सकिएको छ।”

 

प्रकाशित मिति: २०८२ मंसिर १८, बुधवार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको