जनकपुरधाम ,मंसिर १७ । मधेश प्रदेशसभाको बैठक तोकिएको समयमा सुरु नहुँदा र मुख्यमन्त्री सरोज कुमार यादव बैठकमा उपस्थित नहुँदा बैठकलाई दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
आज बिहान ८:३० बजे विश्वासको मतका लागि बोलाइएको बैठक झण्डै दुई घन्टा ढिलो सुरु भए पनि मुख्यमन्त्री यादव तथा एमालेका केही सांसदहरू उपस्थित नहुँदा उपसभामुख बबिता कुमारी राउत ईशरले बैठक स्थगित गर्ने निर्णय लिएकी हुन्।
मुख्यमन्त्रीको अडानपछि बैठक स्थगित
मुख्यमन्त्री यादवले विश्वासको मत दिउँसो २ बजे मात्र लिने अडान राख्दै प्रदेश सभा सचिवालयलाई पत्र पठाएका थिए। उपसभामुखले यही मागअनुसार बैठक स्थगित गरिएको बताइन्।
यसअघि मंगलबार साँझ बसेको सर्वदलीय बैठक तथा कार्यव्यवस्था परामर्श समितिको बैठकले बिहान ८स्३० बजे नै प्रदेशसभा बैठक राख्ने सहमति गरेको थियो। तर मुख्यमन्त्री यादवले आफूले पठाएको पत्रअनुसार समय निर्धारण नगरी, ‘विपक्षी दलहरूको उक्साहटमा’ बिहानै बैठक बोलाइएको आरोप लगाए।
विपक्षी दल समयमै, मुख्यमन्त्री अझै उपस्थित छैनन्
विपक्षी दलका प्रदेश सांसदहरू बिहान ८:३० बजेदेखि नै प्रदेशसभामा उपस्थित भएर प्रतीक्षा गरिरहेका छन्। एमालेका केही सांसदहरू पनि सभामा आएका छन्। तर साढे १० बजेसम्म पनि मुख्यमन्त्री यादव सभामा पुगेका थिएनन्।
२ बजे विश्वासको मत लिने तयारी
उपसभामुख ईशरले कार्यव्यवस्था परामर्श समितिको पुनः बैठक बसेर मुख्यमन्त्रीले मागेकै समयअनुसार बैठक दिउँसो २ बजे सम्मका लागि सारिएको जानकारी दिएकी छन्। सो समयमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्ने तयारी रहेको सचिवालयले जनाएको छ।




