निर्वाचन तयारीबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वपक्षीय बैठक आह्वान



काठमाडौं, मंसिर १८। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन तयारीबारे व्यापक छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीको पहलमा सर्वपक्षीय बैठक आह्वान गरिएको छ। निर्वाचन सुरक्षादेखि समग्र तयारीसम्मका विषयमा संयुक्त रूपमा रणनीति मिलाउने उद्देश्यले सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका शीर्ष अधिकारीहरूलाई बैठकमा बोलाइएको हो।

बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी २१ फागुनमा हुने तय भए पनि यसका तयारी, वातावरण निर्माण र आवश्यक समन्वयबारे राजनीतिक दलहरूले निरन्तर चासो व्यक्त गर्दै आएका छन्। त्यस्तै, राष्ट्रिय सभाको निर्वाचन भने ११ माघमा हुँदैछ।

निर्वाचनका लागि सुरक्षित वातावरण अपरिहार्य ठहरिँदै आएको छ। यसै विषयमा प्रधानमन्त्री कार्कीले यसअघि दलगत छुट्टाछुट्टै छलफल पनि गरिसकेकी थिइन्। आजको सर्वपक्षीय बैठकमा सुरक्षाको सुनिश्चितता, मतदान व्यवस्थापन, निर्वाचन आचारसंहिता लागू गर्ने विषय तथा आयोगका प्राविधिक तयारीबारे समग्र मूल्यांकन हुने अपेक्षा गरिएको छ।

सरकारका प्रतिनिधिहरू, प्रमुख दलका शीर्ष नेता, निर्वाचन आयोगका आयुक्तहरू तथा सुरक्षा निकायका प्रमुखहरू एउटै बैठकमा बस्ने भएकाले आगामी निर्वाचनको व्यवस्थापन र तयारी थप स्पष्ट हुने राजनीतिक विश्लेषकहरूको बुझाइ छ।

प्रकाशित मिति: २०८२ मंसिर १९, बिहिवार १४:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको