समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन निर्वाचन आयोगको आह्वान



काठमाडौं, मंसिर १९। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअघि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन इच्छुक राजनीतिक दलहरूलाई औपचारिक रूपमा निवेदन दिन आह्वान गरेको छ।

आयोगले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै समानुपातिक निर्वाचनमा सहभागी हुन चाहने दलहरूले मंसिर २१ गतेदेखि २३ गतेभित्र निवेदन पेस गर्नुपर्ने जनाएको छ। आयोगका अनुसार दलहरूले प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका–२०८२ अनुसार तोकिएको ढाँचामा नै निवेदन तयार पार्नुपर्नेछ।

हाल प्रत्यक्ष प्रणालीतर्फ निर्वाचन प्रयोजनका लागि ११७ दल दर्ता छन्। समानुपातिक प्रणालीमा प्रतिस्पर्धा गर्न चाहने दल भने राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ अनुसार आयोगमा दर्ता भइसकेका हुन आवश्यक छ।

आयोगले समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य राख्नुपर्ने कानुनी प्रावधानलाई पनि पुनः स्मरण गराएको छ। दलहरूले निवेदन पेस गर्दा केन्द्रीय समितिको औपचारिक निर्णयसहित अधिकार प्रदान गरिएको पदाधिकारीको हस्ताक्षर अनिवार्य हुने आयोगले स्पष्ट पारेको छ।

एकल चुनाव चिन्ह लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलहरूको हकमा सबै सम्बन्धित दलले संयुक्त वा अलग–अलग निर्णयमार्फत एउटै व्यक्तिलाई प्रतिनिधित्वको अधिकार दिनुपर्नेछ। त्यस्ता दलहरूका अधिकार प्राप्त व्यक्तिहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर निवेदन पेस गर्नुपर्नेछ।

समानुपातिक तर्फ उम्मेदवारको बन्द सूची पेस गर्ने दलहरूले मात्र दर्ता गराउनुपर्ने आयोगले जनाएको छ। बन्द सूची नपेसाउने दललाई यस प्रणालीका लागि छुट्टै दर्ता आवश्यक नपर्ने व्यवस्था छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा आयोगको यो प्रक्रिया दल दर्ता, उम्मेदवार छनोट तथा समग्र निर्वाचन तयारीलाई तीव्र बनाउने संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रवार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको