जनकपुरधाम, मंसिर १९ । मधेश प्रदेशका मुख्यमन्त्रीकालागि नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णा यादवले प्रदेश प्रमुख समक्ष दावी प्रस्तुत गरेका छन् । नेपाली जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्नमुक्ति पार्टी सम्मिलित सात दलिय गठबन्धनको समर्थनमा यादवले मुख्यमन्त्रीकालागि दावी पेश गरेका छन् ।
नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि विगत दुई दिन देखि सात दलीय गठबन्धन कसको नेतृत्वमा सरकारमा जाने बिषयमा छलफल गर्दै थियो । हुनत जसपा नेपाल र लोसपाले नेता जितेन्द्र सोनलको नेतृत्वमै सरकारमा जानुपर्ने अडान लिए पनि दिउँसो कांग्रेस मधेशप्रदेशका संसदीय दलक नेता यादवकै नेतृत्वमा सरकारमा जाने सहमति भएको थियो ।
कांग्रेसलाई सरकारको नेतृत्व नदिए पछि गठबन्धनवाट बाहिर गएर नेकपा एमाले संग सहकार्य गर्न सक्ने छाटकाट देखिन थालेपछि गठबन्धन आवद्ध दलहरुले कांग्रेसलाई समर्थन जनाएका थिए ।
गठबन्धन दलका नेताहरु प्रदेश प्रमुख डा. सुरेन्द्र लाल कर्णलाई सातदलका ७७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर सहितको पत्र बुझाउदै दावी प्रस्तुत गरेका हुन ।




