सरकार गठनबारे अझै जुटेन सहमति, दलहरूको म्याराथन बैठक जारी



जनकपुरधाम, मंसिर १९ । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रयास अझै टुंगो नलागेपछि दलहरूको म्याराथन बैठक शुक्रबार पनि जारी छ। प्रदेश प्रमुखले दाबी पेश गर्न तोकेको समयसीमा आज साँझ ५ बजेसम्म भएकाले गठबन्धन दलहरू आन्तरिक रूपमा तीव्र छलफलमा जुटिरहेका छन्।

एमाले बाहेकका सात दलीय गठबन्धन(नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी) बीच सहमति बनाउने अन्तिम प्रयासमा छन्।

यसअघि संविधानको धारा १६८ (३) अनुसार गठन भएको सरोजकुमार यादव नेतृत्वको सरकारले सर्वोच्च अदालतको आदेशपछि २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत लिन नसकेपछि यादवले १७ मंसिरमा राजीनामा दिए, र त्यसै दिन प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकारका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

अहिले गठबन्धन दलहरू नयाँ मुख्यमन्त्री छान्न अन्तिम चरणको छलफलमा छन्। बिहीबार मात्र सात दलका शीर्ष नेताहरू आठ घण्टा लामो बैठक बसे पनि सहमति जुट्न सकेन। जसपा संसदीय दलका नेता सरोजकुमार यादवले भने नयाँ मुख्यमन्त्रीको नाम टुंगिएको दाबी गर्दै आज दिउँसो २ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस हुने बताएका थिए।

तर बैठकमा सहभागी एक सांसदका अनुसार अन्तिम निर्णय नजिक पुगेको भए पनि नाममा एकमत हुन नसकिरहेकाले आज पुनः छलफल बस्ने सहमति भएको छ।

समयसीमा नजिकिँदै गर्दा सात दलबीच सहमति बन्ने कि थप जटिलता सिर्जना हुने भन्ने विषयले मधेश प्रदेशको राजनीतिक वातावरण तातिएको छ

प्रकाशित मिति: २०८२ मंसिर २०, शुक्रवार ०८:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको