‘सभापतिमा उम्मेदवार हुँ, छलफलपछि औपचारिक घोषणा गर्छु : गगन थापा



सर्लाही, मंसिर २० । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि उम्मेदवारी दिने तयारी भइरहेको बताएका छन्। सर्लाही भेटघाटका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले छिट्टै देशव्यापी दौडाह सुरू गर्ने जानकारी दिए।

गगनले भने, “अधिवेशनको प्रक्रिया अघि बढिसकेपछि कसरी सामना गर्ने भन्ने विषयमा पार्टीका नेताहरू, साथीहरू र आफूलाई साथ दिने कार्यकर्तासँग छलफल भइरहेको छ। त्यो छलफलपछि औपचारिक निर्णय गर्ने प्रक्रिया रहेको छ। म सभापतिका लागि तयारी गरिरहेको उम्मेदवार हुँ।”

उनका अनुसार कांग्रेसको १५औँ महाधिवेशनले नयाँ सन्देश, नयाँ नीति र नयाँ नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ। सो जिम्मेवारी पार्टी नेताहरूले आफूलाई दिने विश्वास उनले व्यक्त गरे।

थापाले पार्टीका नेता तथा कार्यकर्ताको विचार बुझ्न केही दिनमै देशदौडाहमा निस्किने बताए। “पूर्वदेखि पश्चिमसम्म जान्छु। प्रारम्भिक रूपमा हाइवे क्षेत्रका २०–२२ जिल्ला पुग्ने योजना बनाएको छु,” उनले भने।

कांग्रेसको अधिवेशन प्रक्रियामा देखिएका केही मतभेदहरू अब सहमतिको दिशामा पुगेको उनको दाबी छ। अधिवेशनका अलमललाई आगामी निर्वाचनसँग जोडेर बुझ्नुपर्ने थापाको भनाइ छ।

उनले फागुन २१ गते नै निर्वाचन हुनु संविधानको संरक्षणका लागि आवश्यक भएको उल्लेख गर्दै भने, “संविधानलाई ठूलो क्षति भइसकेको छ। फागुन २१ को चुनावले थप क्षति हुन नदिने सुनिश्चित गर्छ। कांग्रेस त्यसका लागि प्रतिबद्ध छ र औपचारिक निर्णयहरू भइसकेका छन्।”

थापाका अनुसार दलहरू चुनावका लागि तयारी अवस्थामा भए पनि सरकारले वातावरण निर्माण गर्न ध्यान दिनुपर्नेछ।

प्रकाशित मिति: २०८२ मंसिर २१, शनिवार १४:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको