जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मधेशमा हिजो मात्रै गठन भएको सरकारले मुलुकमा नयाँ राजनीतिक समिकरणको संकेत गरेको बताएका छन ।
जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेकपा र मधेशवादी दलसहितको समर्थन नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुनुले परम्परागत समिकरणको अन्त्य भई नयाँ राजनीतिक समिकरणको शुरुवात भएको बताए ।
काँग्रेस एमालेको गठबन्धन प्रति लक्षित गर्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन ।
मुलुकको हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका मधेशी जनताले समाजवादी आन्दोलनको समेत नेतृत् वगर्ने विश्वास व्यक्त गर्दै प्रचण्डले जनकपुरधामको सभामा उपस्थित भीडले मधेश नेकपा एकता प्रक्रियालाई अनुमोदन गरेको समेत बताए ।
उनले नेपाली जनतामा रहेको वर्षौ देखी पीडा र विभेद अन्त्य गर्दै आत्मनिर्णयको अधिकार लाई साकार गर्न विभिन्न पार्टीमा छरिएर रहेका कम्युनिष्ट र समाजवादीहरु एक भएर नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताए ।
मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै भविष्यमा आउन सक्ने हरेक राष्ट्रिय संकटको सामना गर्न नेपाली कम्युनिष्ट पार्टी तयार रहेको समेत बताए ।
कृषि क्रान्ति विना मधेशका साथै समग्र देशकै समृद्धि सम्भव नरहेको र दुखका साथ वैदेशिक रोजगारी जान बाध्य युवाहरुलाई मुलुकमा रोक्न नसक्नेभएकाले अवको क्रान्ति कृषि क्रान्तिको लागि हुनु पर्ने बताए ।




