जनकपुरधाम, मंसिर २० । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनका लागि नेपाली कम्युनिष्ट पार्टीको स्थापना भएको बताएका छन ।
जनकपुरधाममा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता खनालले २०६२/६३को जनआन्दोलनले पूजिवादी लोकतन्त्रको स्थापना गरेकोले वर्तमान व्यवस्थाबाट गरिव, सीमान्तकृत समुदाय झन उपेक्षित हुँदै गएको बताए ।
उनले पूजिवादी लोकतन्त्रलाई समाजवादी लोकतन्त्रमा परिणत गराउन नेपाली कम्युनिष्ट पार्टी अग्रपक्तिमा रहेको दावी समेत गरे । मुलुकमा व्याप्त विभेद, उत्पीडनको अन्त्य गर्दै समाजवादी लोकतन्त्र स्थापनाको निमित्त नेपाली कम्युनिष्ट पार्टी सदैब लडि रहने बताए । नेपालका सबै कम्युनिष्टहरुलाई एकजुट गर्दै शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण नै अहिलेको मुख्य उद्देश्य रहेको बताए ।




