जनकपुरधाम, मंसिर २१ । तीन वटा मुख्यमन्त्री फेरिदा समेत राजिनामा नदिएका मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतो पदमुक्त भएका छन ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज महतोलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्यालयका निमित्त सचिव सत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखले मुख्यमन्त्री यादवको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको उल्लेख छ ।
तत्कालिन मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका महतो सिंह पछि जितेन्द्र सोनल र सरोज कुमार यादव मुख्यमन्त्री बन्दा समेत राजिनामा दिएका थिएन । समान्यतया ,सरकार प्रमुख फेरिए लगतै मुख्यन्यायाधिवक्ताले राजिनामा दिने चलन रहेको छ ।
पदमुक्तको पत्र सार्वजनिक भए लगतै महतोले राजिनामा दिएको पत्र समेत सार्वजनिक गरेका छन ।




