विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्ने – प्रमुख निर्वाचन आयुक्त भण्डारी



काठमाडौँ, मंसिर २१ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विदेशमा रहेका नेपाली र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्ने बताएका छन्। यसबारे राजनीतिक दलहरूसँग छलफल गरेर अन्तिम निर्णय लिने तयारी भइरहेको उनले बताए।

भण्डारीले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे पनि जानकारी दिएका छन्। आयोगले समानुपातिकतर्फ दल दर्ता प्रक्रिया मंसिर २३ सम्म सञ्चालन गर्ने तयारी गरिरहेको छ। प्रत्यक्षतर्फ पनि धेरै कार्यक्रम कार्यान्वयनको चरणमा पुगेका छन्।

उनका अनुसार निर्वाचनमा ७७ जिल्लामा बजेट वितरण, आवश्यक सामानको स्थानीय खरिद, स्वदेशी उद्योग प्रोत्साहन र वातावरणमैत्री ९हरित० निर्वाचन सुनिश्चित गर्ने तयारी भइरहेको छ। वातावरणमैत्री निर्वाचन अन्तर्गत प्रचार–प्रसारमा प्लास्टिकजन्य पदार्थको प्रयोग कम गर्ने वा निषेध गर्ने नीति लागू हुनेछ।

भण्डारीले बजेट पर्याप्त रहेको र आवश्यक परेमा थप बजेट सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग दैनिक सम्पर्कमा रहेको बताएका छन्। सवारी साधनको व्यवस्था सरकार र वैदेशिक सहयोगमार्फत गरिनेछ।

उनले निर्वाचनमा संशय भएका दलहरूलाई पनि विश्वास दिलाउँदै सबै ११४ दलहरूले निर्वाचनमा भाग लिने प्रतिबद्धता जाहेर गरिसकेको बताए। केही दलहरूले एकल निर्वाचन चिह्नमा चुनाव लड्ने तयारीसमेत पूरा गरिसकेका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २२, आइतवार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको