दाङ, मंसिर २१ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्मालाई उनी गृहजिल्ला रुकुम पश्चिम पुग्दा केही युवाहरूले कालोझण्डा देखाएका छन्।
माओवादी केन्द्र त्यागेर प्रलोपा गठन गरेकोपछि शर्मा पहिलोपटक आज रुकुम पश्चिम पुगेका थिए। बिहान करिब १० बजे सल्लेस्थित विमानस्थलमा अवतरण गरेका उनलाई तत्कालीन माओवादी केन्द्र–आठबिसकोट नगरपालिका कमिटीका पूर्वअध्यक्ष मानबहादुर चदारा नेतृत्वको समूहले कालोझण्डा देखाएको हो।
करिब २० जनाको समूहमा आएका नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ताले शर्माविरुद्ध नाराबाजीसमेत गरेका थिए। उनीहरूले शर्मामाथि जनता र सहिदलाई धोका दिएको आरोप लगाएका छन्।




