रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको विषयलाई लिएर स्थानीय आन्दोलित, चक्का जाम–ढुंगामुढा र लाठीचार्जसम्म



ओम प्रकाश यादव
रौतहट, मंसिर २१। रौतहटमा सवारी दुर्घटनामा एकै परिवारका एक जनाको मृत्यु भएको र तीन जना बालबालिका घाइते भएको विषयलाई लिएर स्थानीयहरु आन्दोलित भएका छन ।

गत मंसिर १९ गते साझ रौतहटको चन्द्रपुर नगरपालिका–६ मोतियाही पुल नजिक चपुर–गौर सडकखण्डमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन्।

दुर्घटनापछि मृतकका परिवार तथा स्थानीय आन्दोलित बनेपछि चक्का जाम, ढुंगा प्रहार र लाठीचार्जसमेत भएको छ।

गौरबाट चपुरतर्फ आउँदै गरेको ना ४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एकै परिवारका चारजना घाइते भएका थिए। उनीहरूलाई तत्काल चपुरस्थित चन्द्रपुर प्रा।लि। अस्पताल पुर्‍याइएको थियो।

दुर्घटनामा मोटरसाइकिल चालक बृन्दावन नगरपालिका –२, विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको छ भने उनकै छोरा युवराज पटेल, आकृति पटेल र प्रिन्स कुमार पटेल गम्भीर घाइते भएका छन ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा बस चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

मोटरसाइकल चालक नागेन्द्र पटेलको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयहरू आन्दोलित बने। उनीहरूले चपुर–गौर सडकखण्डको हरसााहा क्षेत्रमा शनिवार दिनभर र गएराति पनी चक्का जाम गर्दै आन्दोलन थालेका थिए।

आंदोलनका कारण चपुर–गौर मुख्य मार्गमा दर्जनौँ नाइट बस, ट्रक तथा मालवाहक सवारी रोकिए भने यात्रुहरू अलपत्र परेका थिए । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

मृतकका आफन्त तथा आन्दोलनमा सहभागी स्थानीयहरूले सडक अबरुद्ध गर्दै विभिन्न मागहरू स्पष्ट रूपमा अघि सारेका छन् ।

उनिहरूले दुर्घटनामा संलग्न बस चालकलाई तत्काल कडा कारबाही , मृत्यु भएका नागेन्द्र पटेलका परिवारलाई उचित क्षतिपूर्ति प्रदान, घाइते तीन बालबालिकाको सम्पूर्ण उपचार खर्च सरकार वा बस सञ्चालक पक्षले व्यहोर्नुपर्छ, दुर्घटना दोहोरिन नदिन चपुर–गौर सडकखण्डमा ट्राफिक व्यवस्थापन सुधार, गति नियन्त्रण र नियमित निगरानी कडाइ गर्नुपर्छ भनी माग गरेका छन ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २१, आईतवार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको