श्याम कुमार ठाकर
सिरहा, मंसिर २१ । नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डाको समन्वय, विभिन्न स्वास्थ्य संस्थाहरूको सक्रिय सहकार्य तथा स्थानीय समुदायको उत्साहपूर्ण सहभागितामा सुखिपुर नगरपालिका–१० दहिपौडीस्थित श्री जनता माध्यमिक विद्यालयमा आयोजना गरिएको सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर रूपमा सम्पन्न भएको छ।
शिविर श्री मध्य पूर्वी पृतनापतिद्वारा जारी ‘कमाण्ड मार्ग निर्देशन’ अन्तर्गत सैनिक–नागरिक मैत्री सम्बन्ध सुदृढ गर्ने तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित सञ्चालन गरिएको थियो। शिविरको नेतृत्व गणका व्य.नं. ४६२१ प्र.से. समिर श्रेष्ठले गरेका थिए।
शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका साथै सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा (लहान), फुलकुमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र लहान, एनसिसि अलुमनाई एसोसिएसन नेपाल र हिमालय सुगर मिल्स लिमिटेडको सहभागिता रहेको थियो।
शनिवार बिहान १०ः०० बजेदेखि साँझ ४ः०० बजेसम्म चलेको शिविरमा २१६ महिला र २४४ पुरुष सहित कुल ४६० नागरिकले उपचार प्राप्त गरेका छन्।
स्वास्थ्य शिविरमा आँखा जाँच तथा उपचार, दन्त सेवा, छाला तथा सामान्य उपचार , महिला तथा प्रसूति स्वास्थ्य सेवा, रक्तदान कार्यक्रम र सर्पदंश, शीतलहर, आगलागी तथा दैविक प्रकोपसम्बन्धी सचेतनामूलक प्रशिक्षणका सेवाहरू प्रदान गरिएको थियो। स्थानीयवासीहरूले सेना–नागरिक सहकार्यबाट दुर्गम क्षेत्रमा यस्तो सुव्यवस्थित सेवा उपलब्ध गराइएकोमा प्रसन्नता व्यक्त गरेका छन्।
शिविरको निरीक्षणका लागि सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा श्री नं. २७ वाहिनी अड्डाका वाहिनीपति स।र। नारायण बहादुर थापा उपस्थित रहेका थिए।






