८ निवर्तमान सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा, कांग्रेसभित्र तरंग



काठमाडौं , मंसिर २२ । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले आइतबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट दायर गरेपछि पार्टीभित्र गम्भीर तरंग उत्पन्न भएको छ। सांसद हरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारेस राखेर रिट पेश गरेका हुन्।

रिट दायर गर्ने सांसदमा विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ, साथै दीपक खड्का, नागिना यादव, शान्ति बिक, जाबेदा खातुन जागालगायत ८ जना रहेका छन्। उनीहरू सबैले पार्टीको संस्थागत निर्णय विपरीत सर्वोच्चको ढोका ढक्ढक्याएका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर ६ गते फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गरिसकेको थियो। बैठकले संसद विघटनलाई असंवैधानिक भने पनि यस विषयमा अन्तिम व्याख्या सर्वोच्च अदालतले गर्ने विश्वास व्यक्त गरेको थियो।

पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले सर्वोच्चमा दायर रिटलाई सांसदहरूको व्यक्तिगत निर्णय भन्दै पार्टीले कुनै आधिकारिक तयारी नगरेको स्पष्ट पारे। ‘संस्थागत निर्णय नभएकाले कांग्रेसले रिट दायर गरेको मान्न सकिँदैन,’ महतले भने।

इतर समूहका नेता डा। शेखर कोइराला र महामन्त्री गगन थापाले पनि पार्टीको आधिकारिक निर्णय निर्वाचनमा जाने भएकाले रिट व्यक्तिगत कदम भएको जनाएका छन्।

तर प्रमुख सचेतक घिमिरेले भने पार्टीले संसद विघटनलाई असंवैधानिक भनेकाले त्यसलाई लोकतान्त्रिक प्रक्रियाबाट चुनौती दिन सर्वोच्चमा जानु आफूहरूको अधिकार रहेको बताए।

यस घटनापछि पार्टीभित्र आन्तरिक मतभेद पुनः सतहमा आएको छ भने आगामी निर्वाचन र विघटनको संवैधानिक वैधताबारे कांग्रेसभित्र बहस चर्कन थालेको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, सोमवार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको