सिनामंगलमा असईले चार महिनाका छोराको हत्या, श्रीमतीमाथि कुटपिट



काठमाडौं ,मंसिर २२ । काठमाडौंको सिनामंगलमा एक प्रहरी सहायक निरीक्षक (असई)ले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्। आइतबार अपराह्न डेरामा झगडा हुँदा असई पुष्कर कार्की ९२९०, डोटीले चार महिनाका शिशु माहिर कार्कीको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पुष्टि गरे।

एसपी भट्टराईका अनुसार, छोराको उपचारसम्बन्धी विवादबाट सुरु भएको झगडाका क्रममा असई कार्कीले आफ्नी श्रीमती विष्णा साउदमाथि कुटपिट गरेका थिए। त्यसपछि उनले शिशुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

श्रीमान–श्रीमती दुवैजना प्रहरी कर्मचारी हुन्। विष्णा साउद प्रहरी जवान हुन् र दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए।

घटनापछि पुष्कर कार्की फरार भएका थिए। प्रहरीको खोजतलासपछि उनलाई साँझ करिब ६ बजे नागढुंगा चेकपोस्टबाट नियन्त्रणमा लिइएको हो।
घाइते विष्णा साउदको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, सोमवार ११:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको