टुनामुना’ आरोपमा सिटी–सफारी चालकको हत्या, ७ जना पक्राउ



विराटनगर,मंसिर २२ । सुनसरीको रामधुनी नगरपालिका–२ कर्मनिया टोलका सिटी–सफारी चालक दिनेशकुमार चौधरीको हत्या ‘टुनामुना र तन्त्र–मन्त्र’ आरोपमा योजनाबद्ध रूपमा भएको प्रहरीले पुष्टि गरेको छ। करिब दुई महिनाको अनुसन्धानपछि चौधरी हत्यामा संलग्न ७ जनालाई पक्राउ गरिएको छ भने मुख्य योजनाकारसहित ३ जना अझै फरार छन्।

गत असोज २५ गते साँझ साढे ५ बजे रामधुनी–२ स्थित शिवनगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा चौधरी सिटी–सफारी चलाइरहेका बेला गोली प्रहार गरी हत्या गरिएको थियो। चौधरी गाउँका धामी पनि थिए, जसको पारंपरिक तन्त्र–मन्त्र अभ्यास उनका परिवारमा विवादको कारण बनेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमा राजकिशोर साह(४३) र नन्दकिशोर साह (४०, दाजुभाइ), अंकित साह (२८), प्रिन्सकुमार दास (२८), मोहमद इब्रान मिया (३४), गियास मन्सुरी (३७) र मिथलेश यादव (२५) रहेका छन्। प्रहरीले राजकिशोर र नन्दकिशोर दाजुभाइलाई हत्याको सुपारी दिने मुख्य व्यक्ति भएको जनाएको छ।

डीएसपी चन्द्र खड्काका अनुसार, चौधरीले परिवारमा टुनामुना गरेर सदस्यहरूलाई दुस्ख दिएको आरोपमा हत्याको योजना बनेको हो। हत्याका लागि सुटरलाई ३ लाख रुपैयाँ एडभान्स दिइएको र घटना सफल भए पछि थप ३ लाख ५० हजार दिने सहमति भएको पाइएको छ।

डीएसपी खड्काले भने, “मृतक धामी रहेछन्। ५–६ वर्षअघि विवाद हुँदा देखाइदिन्छु भन्ने धम्की दिएका रहेछन्। परिवारका सदस्य बिरामी भएपछि शंका गरेर सुपारी दिएको देखिन्छ।”

प्रहरीका अनुसार घटनामा प्रयोग भएको हतियार अझै फेला परेको छैन। फरार तीन जनाको खोजी भइरहेको छ। पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, सोमवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको