काठमाडौं ,मंसिर २२ । नेपालका १० जना उच्च पदस्थ व्यक्तिहरूको ज्यान मार्ने धम्की दिएका प्रकाश पाठकविरुद्ध चार वटा मुद्दा दर्ता भएको खुलेको छ। प्रहरी स्रोतका अनुसार उनीविरुद्ध पहिले नै विभिन्न अपराधका मुद्दा दर्ता भइसकेका छन्।
पहिलो मुद्दा २०७० असार ९ मा प्रहरी वृत्त बौद्धमा दर्ता भएको थियो, जसमा पाठकविरुद्ध हो-हल्ला र सवारी आगमनमा अवरोध पुर्याएको आरोप थियो। त्यही समयमा उनीविरुद्ध सार्वजनिक अपराधको कसुरमा पनि मुद्दा दर्ता भएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई वटा अन्य मुद्दा दर्ता छन्। यसमा ठगी, विश्वासघात र एक्सटर्सन(आपराधिक लाभ) को आरोप रहेको छ। पहिलो मुद्दा २०७६ जेठ २३ मा दर्ता भएको थियो र त्यो बेला जाहेरवालाले पाउनुपर्ने रकम प्राप्त भइसकेको थियो। दोस्रो मुद्दा भने २०८० मंसिर २६ मा दर्ता भइ अनुसन्धान भइरहेको छ। सो मुद्दामा पाठक फरार रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पाठकविरुद्ध ६ जनाले जाहेरी दिएका थिए, जसमा उनीहरूले ६५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएका छन्। पाठकले विदेश पठाउने भन्दै रकम उठाएको तर पठाएनन् भनी जाहेरी गरिएको हो। उनले सामाजिक सञ्जालमार्फत रकम हतियार र सार्पसुटरमा लगानी गरेको दाबी समेत गरेका छन्।
पाठकले हालै प्रेम राईको नाम उल्लेख गर्दै २४ घण्टाभित्र राजीनामा नदिए हत्या गर्ने धम्की दिएका थिए। उनी अख्तियार प्रमुख राईसहित १० जनालाई धम्की दिने विषयमा प्रहरीको वान्टेड लिस्टमा छन्।
पाठक अझै सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् र आफूलाई ‘ह्याप्पी पाठक इन्टरटेनमेन्ट’ र एनआइएसडीको सञ्चालक समेत भएको दाबी गर्दै आएका छन्। विभिन्न प्रहरी युनिटले उनीविरुद्ध खोजी जारी राखेको छ।




