काठमाडौं ,मंसिर २२ । श्रम संस्कृति पार्टीका सभापति र धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो पार्टीले आगामी निर्वाचनमा जित्ने र सरकार गठन गर्ने दाबी गरेका छन्। काठमाडौंको सिफलमा आयोजित संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम अन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो स्पष्ट पारेका हुन्।
साम्पाङले भने, “‘जेनजी आन्दोलन’मा उठेका मुद्दाहरूलाई ध्यानमा राख्दै हाम्रो विचारअनुसारको राज्य निर्माण हुनु जरूरी छ। त्यसैले हामीले हाम्रो घोषणापत्रमा यो स्पष्ट रूपमा लेखेका छौं। हामी सरकार गठन गरिसकेपछि हामी नै जित्छौं, कुनै शंका छ रु हाम्रो पार्टीले नै सरकार बनाउने छ।”
उनीहरूले आफ्नो नेतृत्वको सरकारले जेनजीको माग सम्बोधन गर्न आयोग गठन गर्ने योजना पनि अघि सारेका छन्। साम्पाङले बताए, “जेनजीले के भन्न चाहन्छन् भन्ने बुझ्न आयोग आवश्यक छ। ८० वर्षको पुस्ता र विगतका युवा पुस्ताले जे भनेका छन्, त्यसलाई बुझेर अगाडि बढ्नुपर्छ।”
साम्पाङले आफ्नो पार्टीको घोषणापत्र र कार्यक्रममार्फत देशमा अग्रगामी सुधार र युवा नेतृत्वको महत्वलाई जोड दिएका छन्। उनका अनुसार पार्टीको सरकार गठनपछि नयाँ नीति, योजना र विकास कार्यक्रमहरू लागू गरिनेछ।
सिभिल समाजमा युवा र आम जनताको सक्रिय सहभागितालाई प्राथमिकता दिने र पार्टीको विजयी रणनीति सुनिश्चित गर्ने उनको भनाइ छ। साम्पाङले आगामी निर्वाचनमा पार्टीको शक्ति र नेतृत्व क्षमता देखाउन केन्द्रीय नेतृत्वसँगको सहकार्य र जनसहभागितामा जोड दिएका छन्।
श्रम संस्कृति पार्टीले निर्वाचन आयोगमा दर्ता पश्चात काठमाडौंमा गरेको यो पहिलो औपचारिक सभा पार्टीको सक्रिय संगठन विस्तार र चुनावी तयारीको संकेत पनि मानिएको छ।




