काठमाडौं ,मंसिर २२ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पदाधिकारीहरूका लागि रहेको दुई कार्यकाल सीमाको प्रावधान पुनः विधानमा समावेश गर्न औपचारिक माग गरेका छन्।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा उनले महासचिव शंकर पोखरेलसमक्ष आफ्नो अवधारणापत्र बुझाउँदै सो प्रावधानलाई आठौँ र नवौँ महाधिवेशनमा अभ्यास गरेअनुसार अहिलेको राजनीतिक सन्दर्भमा परिमार्जनसहित पुनः लागू गर्नुपर्ने बताएका हुन्।
आगामी ११औँ महाधिवेशन सुरु हुन पाँच दिन मात्र बाँकी रहेका बेला पोखरेलले आफ्नो समूहका नेताहरूसहित प्रस्तुत गरेको अवधारणापत्रमा योग्यताअनुसार जिम्मेवारी, कार्यसम्पादनअनुसार मूल्याङ्कन र अनुशासित संगठन निर्माणमा कार्यकाल सीमा महत्वपूर्ण हुने उल्लेख छ। पार्टीभित्र आन्तरिक लोकतन्त्र संस्थागत गर्न पनि कार्यकाल सीमाको व्यवस्था आवश्यक रहेको उनको धारणा छ।
उम्मेदवार छनोटमा सुधार आवश्यक रहेको भन्दै उनले संसदीय फाँटका उम्मेदवारहरू चयनमा पार्टी सदस्य मात्र होइन, आम नागरिकको अभिमत पनि निर्णायक आधार हुनुपर्ने सुझाव दिएका छन्। समानुपातिक उम्मेदवार सूची र पार्टीले प्रदान गर्ने लाभका अवसरहरूमा

श्रमिक वर्गीय प्रतिनिधित्व, विषयविज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि, आचारसंहिताप्रति दृढता लाई प्राथमिकता दिने स्पष्ट, पारदर्शी र कार्यान्वयनयोग्य मापदण्ड तयार गर्नुपर्ने पनि उनले माग गरेका छन्।
त्यस्तै, पार्टीका तहगत अधिवेशनदेखि जनसंगठनका अधिवेशनसम्म उच्चतम सहमतिको प्रयास गर्नुपर्ने र आवश्यक परे प्रतिस्पर्धालाई पनि मर्यादित, स्वच्छ र पारदर्शी बनाइने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन नजिकिंदै गर्दा पोखरेलले प्रस्तुत गरेको यो अवधारणापत्र पार्टी नेतृत्वमा बहस योग्य विषयका रूपमा हेरिएको छ।








