काठमाडौं ,मंसिर २२ । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समूह अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदै छ।पोखरेलपक्षका नेताहरूले तयार पारेको अवधारणापत्र औपचारिक रूपमा बुझाउन उनीहरू केहीबेरमा ओली निवास पुग्दैछन्।
उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, समूहले पार्टीभित्र उत्पन्न विवाद, संगठनात्मक अभ्यास र नेतृत्व शैलीसम्बन्धी मुख्य सुझावहरू समेटिएको दस्तावेज अध्यक्षसमक्ष प्रस्तुत गर्नेछ।
स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा पछिल्ला वर्षहरूमा पार्टीभित्र बढेको व्यक्तिवादी नेतृत्व प्रवृत्तिलाई अन्त्य गर्न माग गरिएको बताए। उनका अनुसार, हरेक कमिटीमा सामूहिक निर्णय प्रक्रिया स्थापित गर्ने, व्यक्ति–केन्द्रित राजनीतिक संस्कृति रोक्ने र संगठनलाई लोकतान्त्रिक विधिबाट सुदृढ बनाउने प्रस्ताव प्राथमिकतामा राखिएको छ।
थापाका अनुसार, ‘जेन–जी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिमा केवल विरोध र प्रतिक्रिया मात्रै गरेर पार्टी अघि बढ्न सक्दैन,’ भन्दै आन्तरिक कमजोरी पहिचान नगरेसम्म संगठन सुदृढ नहुने निष्कर्ष अवधारणापत्रले प्रस्तुत गरेको छ। उनी भन्छन्, ‘आन्तरिक कारण धेरै छन्। बाह्य कारण पनि छन् भने पहिचान गर्नैपर्छ भन्ने हाम्रो धारणा हो।’

यतिबेला पोखरेलपक्षका नेताहरू बागबजारस्थित होटेल हार्दिकमा सामूहिक पत्रकार सम्मेलन गर्दै छन्। पत्रकार सम्मेलनमा नेता पाण्डेसहित युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतको उपस्थिति छ। वरिष्ठ उपाध्यक्ष पोखरेल भने टोलीसहित अवधारणापत्रलाई अन्तिम रूप दिन व्यस्त रहेको बताइएको छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई लक्षित गर्दै पोखरेल समूह सक्रिय रूपमा छलफल र तयारीमा रहेको छ। महाधिवेशनपूर्व नेतृत्व संरचना, संगठनात्मक अनुशासन र पार्टीको भविष्यबारे पोखरेल समूहले प्रस्तुत गर्न लागेको अवधारणापत्रले महत्वपूर्ण राजनीतिक बहस उत्पन्न गर्ने अपेक्षा गरिएको छ।








