मिर्चैया उद्योग वाणिज्य संघको नेतृत्वका लागि त्रीपक्षीय प्रतिस्पर्धा



श्यामकुमार ठाकुर
सिरहा, मंसिर २२ । मिर्चैया उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ । ९ वर्ष पछि हुन लागेको अधिवेशनबाट नयाँ कार्यसमितिका लागि आका्रंक्षीहरु बढेपछि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष पदका लागि भरत महासेठ, राजकुमार साह र हरि किशोर महतोले उम्मेदवारी दर्ता गराएका छन्। तिनै उम्मेदवारका समर्थक सक्रिय देखिनुले संघभित्र तीव्र प्रतिस्पर्धा रहने संकेत दिएको छ।

अधिवेशन अन्तर्गत आइतवार सम्पन्न मनोनयन दर्तामा अध्यक्षका साथै अन्य पदहरुमा समेत व्यापक उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

व्यापारी समुदायबीच नयाँ नेतृत्व चयनप्रति चासो बढ्दै गएको बेला दर्ता प्रक्रियाले यसपटकको निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोचक हुने संकेत दिएको छ।
अध्यक्षका अतिरिक्त महासचिवमा समेत कडा प्रतिस्पर्धा हुने भएको छ । महासचिव पदमा राजीव रञ्जन यादव, राकेश कुमार साह (मुन्ना) र जहरि देवी गरी तीनजनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारको संख्या र प्रभावका आधारमा यो पद अत्यन्त प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र साधारण सदस्यलगायत अन्य पदहरूमा पनि अनुभवी व्यापारीदेखि नयाँ पुस्ताका युवा उद्यमीसम्म व्यापक प्रतिस्पर्धा देखिएको छ। नयाँ र अनुभवी दुवै समूहको उपस्थितिले संघको नेतृत्व चयन प्रक्रिया ऊर्जा र उत्साहले भरिएको छ।

सदस्य पदमा मात्र दुई दर्जनभन्दा बढी उम्मेदवार दर्ता भएको छ। व्यापारी समुदायले संघमा सक्रिय भएर योगदान दिन चाहने मनोवृत्ति बढ्दो रहेको यसबाट संकेत मिलेको छ।

मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचन मंसिर २६ गते शुक्रबार हुने निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार शान्त, निष्पक्ष र व्यवस्थित मतदानका लागि आवश्यक सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरिएको छ।

स्थानीय व्यापारीहरूले सक्षम, पारदर्शी र विकासमुखी नेतृत्व चयन भएमा मिर्चैया बजारको व्यापारिक वातावरण अझ सुदृढ हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २२, सोमबार ०७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको