देशभरका भन्सार कार्यालय आजदेखि ठप्प, आयात–निर्यात रोकियो



काठमाडौं ,मंसिर २३ । आजदेखि देशभरका सबै भन्सार कार्यालय मा जाँचपास प्रक्रिया पूर्ण रूपमा ठप्प भएको छ। भन्सार एजेन्ट महासङ्घको आह्वानमा देशभरका भन्सार कार्यालयमा पेनडाउन भएपछि आयात–निर्यातसम्बन्धी सम्पूर्ण मालवस्तुको आवागमन रोकिएको छ।

महासङ्घले केही समयअघि संसदबाट पारित भन्सार ऐनमा समावेश गरिएका व्यवस्थाहरू अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै संशोधनका लागि निरन्तर पहल गरिरहेको थियो। तर सरकार र सम्बद्ध निकायबाट माग सम्बोधनतर्फ कुनै प्रगति नदेखिएपछि बाध्य भएर आन्दोलन कडा पारिएको महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेले बताए।

अहिले सबैभन्दा ठूलो आपत्ति भन्सार ऐनको दफा ७१९झ० मा रहेको छ—जहाँ विद्युतीय माध्यमबाट प्रणालीमा कागजात अपलोड गर्दा ‘भुलवश’ भएको त्रुटिमा समेत जरिवाना गर्ने प्रावधान राखिएको छ। महासङ्घले यसलाई व्यवसायमै धक्का लगाउने दमनकारी व्यवस्था भनेको छ।

त्यसका साथै भन्सार सर्भरमा देखिने लगातार समस्या, एजेन्टहरूको पेशागत हकहितको सुरक्षा, अव्यवहारिक प्रक्रियाको सुधार लगायतका मुद्दा उठाउँदै चरणबद्ध आन्दोलन सुरु गरिएको महासङ्घले जनाएको छ।

सोमबार वीरगञ्ज भन्सारमा पेनडाउन गर्दै चेतावनी दिएको महासङ्घले माग पूरा नभएपछि आजदेखि देशभरै जाँचपास रोक्ने निर्णय गरेको हो।
सरकारसँग वार्ताको सम्भावना खुला भए पनि अहिलेको अवस्थाले आयात–निर्यात व्यापार पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको