भूमाफियालाई मन्त्री बनाएर सुशासनको दुहाई दिँदै मधेशका मुख्यमन्त्री यादव



जनकपुरधाम, मंसिर २३ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले भूमाफियालाई मन्त्री बनाएर सुशासनको दुहाई दिँदै आएका छन् । आफू मुख्यमन्त्री बनेपछि मधेश प्रदेशमा सुशासन कायम गर्ने, मधेश प्रदेशका वेतिथिको अन्त्य गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरे पनि जनकपुरधामका करोडौं मुल्य पर्ने जग्गा अतिक्रमण गर्नेलाई मन्त्री बनाइएको छ ।

मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फवाट विनाविभागिय मन्त्री तोकेका सर्लाही क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्य निर्वाचित जंगिलाल राय यादवले आफ्ना छोरा अमितकुमार यादवको नाममा उक्त जग्गा २०६८ फागुन १६ को मितिमा करारनामा गराएको पाइएको छ । स्थानीयका अनुसार यहाँको जग्गाको प्रतिकठ्ठाको कम्तीमा दुई करोड रुपैयाँ मूल्य पर्छ ।

जनकपुरको वडा नम्बर १४ स्थित सिट नम्बर १२७५–२४ को कित्ता नम्बर ३० को ६ कठ्ठा ५ धुर ३ कनमा जग्गामध्ये पुजारी दासबाट सांसद यादवले वार्षिक ४० किलो धान मनखपमा ४ कठ्ठा एक धुर जग्गा किनेका थिए । पुजारीले बाँकी डेढ कठ्ठा भने ज्ञानकुमार यादवलाई बेचेका थिए । उक्त जग्गा पुजारी दासले वार्षिक ४० किलो धान मनखपमा यादवलाई बेचेको करारनामा उल्लेख छ ।

तर, मधेश प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकार गठन भएपछि भूमाफिया यादवलाई विना विभागिय मन्त्री बनाइएको छ । प्रदेश सभा सदस्य यादवलाई मन्त्री बनाइए पछि चौतर्फी आलोचना हुँदै आएको छ । सामाजिक संजाल देखि चिया पसल सम्ममा जंगिलाल जनकपुरधामकै गुठीको जग्गा कव्जा गरेको कुराको चर्चा छ ।

मधेश प्रदेश सभा सदस्यहरु बीच पनि यस बिषयमा चर्चा रहेको एक प्रदेश सभा सदस्यले मधेश टुडे संगको कुराकानीमा जानकारी दिए । नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले जंगिलाललाई विना विभागिय मन्त्रीको सपथ ग्रहण गराइए पनि उनलाई फिर्ता बोलाउने तयारी समेत थालिएको छ ।

नेपाली कांग्रेस पार्टी विधिको शासन स्थापना गर्न मधेश प्रदेशमा कुनै कसर बाँकी नराख्ने भएकाले लालछना लागेका व्यक्तिलाई कुनै हालतमा मन्त्री बनाउने छैन् । उनको स्थानमा अन्य नेतालाई अगाडि बढाउने तयारी समेत थालिएको उनले बताए ।

प्रकाशित मिति: २०८२ मंसिर २३, मंगलवार ०९:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको