काठमाडौं,मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजा, राजनीतिक दल र जेनजी (जनयुद्ध–सहितका) प्रतिनिधिहरूको सहभागितामा सर्वपक्षीय सम्मेलन आयोजना गर्न आग्रह गरेका छन्।
मंगलबार काठमाडौंमा पार्टीले गरेको प्रदर्शनपछिको सभामा लिङ्देनले भने, “वर्तमान प्रधानमन्त्रीको काँधमा ठूलो राजनीतिक जिम्मेवारी छ। तपाईं केवल मध्यावधि निर्वाचनका लागि होइन, ऐतिहासिक जिम्मेवारीका लागि प्रधानमन्त्री हुनुहुन्छ। त्यसैले देशलाई निकास दिन सर्वपक्षीय सम्मेलनको आयोजना गर्नुहोस्।”
उनले सबै राजनीतिक दलका नेताहरूलाई पूर्वाग्रह, आग्रह र अहंकार त्यागेर सम्झौताका लागि तयार हुन पनि आग्रह गरे। लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाको रूपमा राजाको भूमिकासहित अगाडि बढ्न सुझाएका छन्।
उनको भनाइ अनुसार, “देशले अब ठूलो द्वन्द्व बेहोर्न सक्दैन। अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र राजा अभिभावकको रुपमा रहने व्यवस्था गर्नुपर्छ। यसको विकल्प छैन।”




