एमाले महाधिवेशनका लागि यातायात व्यवस्थापन पूर्ण तयारीमा



काठमाडौं ,मंसिर २३ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकहरूको सवारीसाधन व्यवस्थापन का लागि तीन स्थानमा पार्किङको व्यवस्था गरिएको छ।

एमाले सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले भक्तपुरमा तीन पार्किङ क्षेत्र निर्धारण गरेको हो।

काठमाडौंदेखि पश्चिमबाट आउने सवारीसाधनलाई गट्ठाघरबाट उत्तरतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरण र सीटीइभीटीको चौरमा, पूर्वतर्फबाट आउनेलाई जगातीस्थित भाइरल प्लानिङमा, र सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट क्षेत्रबाट आउने सवारीसाधनलाई कमलविनायक करिडोरमा पार्किङ गरिने व्यवस्था मिलाइएको छ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठनका अध्यक्ष डेकनाथ गौतमका अनुसार, हाल तीन हजार सार्वजनिक भाडाका सवारीसाधन र दुई हजार निजी सवारीसाधन पार्किङका लागि व्यवस्थापन गरिएको छ। थप सवारीसाधन आएमा अन्य स्थानमा पार्किङ मिलाउने व्यवस्था समेत तयार गरिएको छ।

महाधिवेशनको यातायात व्यवस्थापन समितिमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका संयुक्त प्रतिनिधि सहित १५ सदस्यीय समिति गठन गरिएको छ।

एमालेको महाधिवेशन मंसिर २७–२९ मा काठमाडौंमा हुँदैछ। अहिलेसम्म करिब ३० प्रतिशत नेता तथा कार्यकर्ता काठमाडौं प्रवेश गरिसकेका छन्। समितिले महाधिवेशनमा भाग लिन आउने सवारीसाधनलाई व्यवस्थित र सहज रूपमा पार्किङ गर्न सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

प्रकाशित मिति: २०८२ मंसिर २४, मंगलवार १३:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको