काठमाडौँ , मंसिर २४ । विभिन्न प्रलोभनमा परेर म्यानमारका अवैध अनलाइन ‘स्क्यामिङ’ केन्द्रहरूमा काम गर्न बाध्य बनाइएका ४७ जना नेपाली नागरिकको उद्दार गरिएको छ।
थाइल्याण्डस्थित नेपाली राजदूतावासले स्थानीय निकायहरूको समन्वयमा उनीहरूलाई बुधबार स्वदेश फर्काएको हो। उद्दार गरिएका सबैलाई नेपाल वायुसेवा निगमको विमानमार्फत काठमाडौँ ल्याइएको दूतावासले जानकारी दिएको छ।
उद्दारमा परेका कुन–कुन जिल्लाका ?
४७ जनामध्ये ४५ पुरुष र २ महिला रहेका छन्। उनीहरू २६ जिल्लाका बासिन्दा असून, झापाबाट ५ जना, धादिङ, गोरखा, रुपन्देही, सिन्धुपाल्चोक र उदयपुरबाट ३र३ जना उदार भएका छन्। त्यस्तै दाङ, महोत्तरी, मोरङ, नवलपरासी, नुवाकोट, स्याङ्जा र तनहुँबाट २र२ जना तथा चितवन, दैलेख, कास्की, काठमाडौँ, काभ्रे, पाल्पा, रामेछाप, रौतहट, सल्यान, सर्लाही, सिन्धुली, ताप्लेजुङ र तेह्रथुमबाट १र१ जनाको उद्दार गरिएको छ।
उनीहरू १७ देखि ४१ वर्ष उमेरका हुन् र अधिकांशले कक्षा १२ उत्तीर्ण गरेका छन्।
कसरी पुगे म्यानमार ?
दूतावासका अनुसार पीडितहरू सामाजिक सञ्जाल ९फेसबुक, टिकटक, टेलिग्राम, ह्वाट्सएप० तथा अनलाइन खेलमार्फत परिचित भएका व्यक्तिहरूको प्रलोभनमा परेका थिए। “काठमाडौँमै घण्टाको राम्रो कमाइ”, “एक लाखभन्दा बढी तलब”, “डाटा–इन्ट्री वा अफिस जस्तै सजिलो काम” भनेर भारत र दुवई हुँदै म्यानमार पुर्याइएको थियो।
सुरुमा सामान्य व्यवहार देखाइए पनि पछि उनीहरूलाई जबरजस्ती अनलाइन ठगी ९स्क्याम० गर्न लगाइन्थ्यो। लक्ष्य पुरा नभए शारीरिक तथा मानसिक यातना, बन्धक बनाउने, परिवारसँग फिरौती माग्ने, अर्को व्यक्तिलाई फसाएर ल्याए मात्र छोड्ने जस्ता अमानवीय व्यवहार सहनुपरेको उनीहरूले बताएको दूतावासले जनाएको छ। पीडितहरू २ महिनादेखि १८ महिनासम्म बन्धक अवस्थामा थिए।
उद्दार कार्य जारी
म्यानमार, थाइल्याण्ड र लाओसका सीमामा रहेका यस्ता स्क्यामिङ केन्द्रबाट नेपाली उद्दार जारी रहेको दूतावासले जनाएको छ। चालू आर्थिक वर्षमा मात्र १४१ जना स्वदेश फर्काइएका छन्।
दूतावासले अपरिचित व्यक्तिको प्रलोभनमा नपरी श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।






