पोखरा , मंसिर २३ । गण्डकी प्रदेश सरकार मातहतका १६ अस्पताल का व्यवस्थापन समितिमा नेपाली कांग्रेस र एमालेबीच भागबण्डा गरिएको छ। यसअघि रहेका सबै समिति भंग गरेर मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा ११ जिल्ला अस्पतालका अध्यक्ष नियुक्त गरेको हो। बाँकी ५ अस्पतालका अध्यक्ष पनि यही मोडेलबाट टुंग्याउने तयारी छ।
कांग्रेसले मध्यबिन्दु, लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बागलुङको बुर्तिबाङ अस्पतालको अध्यक्ष पाएको छ भने एमालेले धौलागिरि, म्याग्दी, मनाङ, स्याङजा र जनरल तथा सरुवा रोग अस्पतालको नेतृत्व हात पारेको छ।
नियुक्ति प्राप्तमध्ये कांग्रेस कोटाबाट मध्यबिन्दुमा बालकृष्ण घिमिरे, मुस्ताङमा तेन्जिङ थकाली, लमजुङमा विजय गुरुङ, पर्वतमा यामबहादुर नेपाली, दमौलीमा कमलामोहन वाग्ले र बुर्तिबाङमा कमल भुसाल छन्। एमालेतर्फबाट धौलागिरि अस्पतालमा श्रीप्रसाद शर्मा, लेखनाथको जनरल तथा सरुवा रोग अस्पतालमा ऋषिराज जमरकट्टेल, स्याङजामा डिलकुमार भूजेल, वेनीमा डेकबहादुर बानियाँ र मनाङमा अर्विण गुरुङ नियुक्त भएका छन्।
गत भदौ ३ मा सरकारले नयाँ गठन आदेश जारी गर्दै सबै पुराना समिति खारेज गरेको थियो। यसअघि कांग्रेस, एमाले, माओवादीसहित दलहरूबीच भागबण्डा हुँदै आएकोमा नयाँ आदेश योग्यता–आधारितु दाबी गरिए पनि नियुक्ति सूची दलगत कोटामा मिलाइएको देखिन्छ।
स्वास्थ्यमन्त्री कृष्ण पाठकले “योग्यता र स्थानीय प्रतिनिधित्वका आधारमा” अध्यक्ष छानिएको दाबी गरे। उनका अनुसार १०० र ५० शैय्याका अस्पतालमा अध्यक्षका लागि स्नातक योग्यता अनिवार्य छ भने २५ शैय्यासम्ममा शिक्षा योग्यता खुला राखिएको छ। सबै समितिमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरिएको छ।
जेनजी आन्दोलनपछि संघीय तहमा कांग्रेस–एमाले गठबन्धन समाप्त भए पनि गण्डकीमा भने दुबै दल मिलेर सरकार सञ्चालन गरिरहेका छन्। कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् भने एमालेका खगराज अधिकारी नेतृत्वमा चार मन्त्रालय एमालेसँग छन्।




