काठमाडौं , मंसिर २४ । ‘जेनजी’ आन्दोलन का क्रममा राजधानीमा भएका तोडफोड, आगजनीदेखि लिएर प्रहरी हत्या र बैंक लुटजस्ता गम्भीर अपराधमा नाबालकको संलग्नता बढ्दो अवस्थामा देखिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भदौ २३ र २४ गतेका घटनासहित हालसम्म काठमाडौंमा मात्र ३०७ जना पक्राउ परेका छन्, जसमा १५ जना नाबालक छन्।
महाराजगञ्ज वृत्तमा असई मिलन राय र जवान उत्तम थापा तथा कोटेश्वर प्रभागका सहायक हवल्दार अमृत गुरुङको भीडद्वारा हत्या प्रकरणमा पक्राउ परेकामध्ये १६ जनामा २ नाबालक रहेका छन्। उनीहरूको कोठाबाट प्रहरीको युनिफर्म, ब्लेजर, हत्कडी र हतियारसमेत फेला परेको प्रहरीले जनाएको छ। एक नाबालकले प्रहरीलाई लाठी, रड र ढुंगाले प्रहार गरेको र भिडियो खिच्दै ‘मार–मार’ भन्दै कराएको बयानमा उल्लेख छ।
यसैगरी कागेश्वरी मनोहरास्थित वडा कार्यालय तोडफोड प्रकरणमा पनि एक नाबालक अभियुक्त पक्रिएका छन्। भिडियोमार्फत पहिचान गरी उनीविरुद्ध आपराधिक उपद्रवसम्बन्धी मुद्दा दायर गरिएको छ।

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट प्रकरणमा पनि एक नाबालक संलग्न रहेको खुलासा भएको छ। उक्त लुटमा ३८ करोड ४० लाख बराबरको धनराशी, सुन र नगद गायब भएको थियो।
माइतीघरमा प्रदर्शन गर्ने क्रममा एकैदिन नियन्त्रणमा लिइएका ७६ मध्ये १३ जना नाबालक थिए। प्रहरीले सामान्य अपराधमा संलग्न नाबालकलाई मुद्दा नचलाइ आफन्तको जिम्मा लगाइने तर गम्भीर प्रकृतिका घटनामा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
सबैभन्दा धेरै १५–२४ वर्ष उमेर समूहका युवाहरू संलग्न देखिएको प्रहरीको तथ्यांकले देखाउँछ। विशेषज्ञहरूका अनुसार नाबालकको यस्ता घटनामा बढ्दो उपस्थितिले बालमनोविज्ञान, सामाजिक सुरक्षा तथा भविष्यमा अपराधको ग्राफमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।








