काठमाडौं, मंसिर २४ । चार दिनको नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले नेपाल सरकारले तोकेकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार, अर्थ, ऊर्जा, सिँचाइ तथा अन्य मन्त्रीसँगको उच्चस्तरीय भेटघाटमा चुनावका लागि भारतको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
महावरले जेनजी आन्दोलनपछि नेपालले भोगेका चुनौतीपूर्ण अवस्थाको सफल व्यवस्थापनमा भारतको सन्तोष व्यक्त गर्दै आगामी प्रतिनिधिसभा निर्वाचन समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन्। उनले निर्वाचनका लागि आवश्यक स्रोतसाधन, सुरक्षा बन्दोबस्ती, यातायात सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन भारत तयार रहेको पनि जनाए।
प्रधानमन्त्री कार्कीले चुनाव तयारी अन्तिम चरणमा रहेको र तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिँदै भारतको सहयोगका लागि धन्यवाद व्यक्त गरिन्। गृहमन्त्री अर्यालले पनि निर्वाचनका लागि सुरक्षा र आवश्यक सामग्रीमा भारतको सहयोग आवश्यक रहेको बताए।
महावरले जाजरकोट भूकम्पपछिको पुनर्निर्माण, सुक्खा बन्दरगाह निर्माण र अन्य पूर्वाधार परियोजनामा पनि सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल–भारतबीचको सहकार्य र चुनाव सफल बनाउन आवश्यक सहयोगको चर्चा गरे।
अर्थमन्त्री रामेश्वर खनाल र सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्री कुलमान घिसिङसँगको भेटमा दुई देशबीच भएका सम्झौता कार्यान्वयन र विकास निर्माणमा सहकार्यलाई प्राथमिकता दिने विषयमा छलफल भएको थियो।
महावरले आज केही क्षेत्रको अवलोकन र केही अन्तर्वार्ता पछि नेपालबाट फर्किने कार्यक्रम रहेको छ। यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन र निर्वाचन सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।




