काठमाडौं, मंसिर २४ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आसन्न राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु सान्दर्भिक नहुने बताएका छन्। उनले आफ्नो फेसबुकमार्फत महाधिवेशनको उद्देश्य नेतृत्व चयन भएकाले नीतिको बहस अर्को मञ्चमा हुने स्पष्ट गरेका हुन्।
ज्ञवालीका अनुसार पार्टीले विगतका अनुभवका आधारमा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग–अलग आयोजना गर्ने संरचना बनाएको छ। उनका अनुसार, नीतिगत बहस महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा प्रभाव पार्ने भएकाले उक्त चरणमा नीति छलफल गर्नु उपयुक्त हुँदैन।
‘विगतमा नीति र नेतृत्व एउटै मञ्चबाट तय गर्दा नीतिको बहस ओझेलमा पर्न गएको अनुभव छ,’ उनले लेखेका छन्। ज्ञवालीका अनुसार, महाधिवेशनले तात्कालीन राजनीतिक परिवेशअनुसार आवश्यक परेकै अवस्थामा केन्द्रीय कमिटीलाई नीति संशोधनको अधिकार प्रदान गर्छ।
उनी भन्छन्, ‘हरेक घटनाबारे छलफल गर्न महाधिवेशन बोलाउनु न सम्भव हुन्छ, न व्यावहारिक। त्यसैले नीति बहस त्यसका लागि बनाइएको विशिष्ट मञ्चमै हुनुपर्छ।’

ज्ञवालीले सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी लाइन माघ १९ को राजनीतिक घटनाले असान्दर्भिक बनाइदिएको उदाहरण दिँदै सो समयमा केन्द्रीय कमिटीले नै लोकतान्त्रिक गणतन्त्र सम्बन्धी निर्णय गरेको स्मरण गराएका छन्।
उनका अनुसार हाल पार्टी विभिन्न मनोवैज्ञानिक दूरी र धाराधारामा विभाजित देखिएकाले यस अवस्थामा हुने समीक्षा वस्तुनिष्ठ बन्न नसक्ने र ‘ब्लेम गेम’ मा रूपान्तरित हुने जोखिम हुन्छ। त्यसैले आगामी महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।
ज्ञवालीले सहमति खोज्न सबै पार्टी नेताहरूले प्रयास गर्नुपर्ने र सहमति सम्भव नभए स्वच्छ र सभ्य प्रतिस्पर्धाबाट एकता मजबुत पार्नुपर्ने सुझाव बुझाएका छन्। साथै, कीर्तिपुरमा जारी एनपिएलका खेलाडीझैँ सबैले स्पोर्ट्सम्यानसिप अपनाउनुपर्ने उनले उल्लेख गरेका छन्।







