जनकपुरधाम, मंसिर २४ । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका एमाले नेता एवं जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्यासी शिवशंकर साह हिरालाई म्याद थपका लागि आज अदालतमा पेश गरिने भएको छ ।
साहलाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी गणेश बमले जानकारी दिए । बलात्कार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न पक्राउ गरिएको साहलाई म्याद थपको लागि आज जिल्ला अदालतमा उपस्थित गराउने प्रवक्ता बलमे जानकारी दिएका छन । उनि संगै नावालिगका मामा संजय महासेठलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
एक १४ वर्षीयलाई बन्धक बनाई जनकपुरधामको एक होटलमा जवरजस्ती करणी गरेको आरोपमा शिवशंकर साह हिरा सहित ४ जना माथि उजुरी दर्ता भएको थियो । उजुरीको आधारमा हिराका दाई मनोज साहलाई धनुषा प्रहरीले यस अघि नै पक्राउ गरि सकेका छन भने एक जना अझै फरार रहेको छ ।
हिरा साह गत स्थानीय निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयरमा उम्मेदवार रहेका थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष र मधेश प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनका लागि धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भएका छन् । एमालेका नेताहरुका अनुसार उनी फरार रहेकै बेला उनको नाम प्रतिनिधिमा छनोट गरिएको थियो ।
नाबालिगका मामा महासेठलाई प्रहरीले जनकपुरधामबाट नै पक्राउ गरेको धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गणेश बहादुर बमले जनाएका छन् । महासेठले बलात्कारलाई कानुनी दायरामा नलगी अलग्गैबाट मिलाउने प्रयास गरेको आरोप छ । उनले पीडकहरुबाट रकम समेत बुझिसकेको पीडिताले खुलाएकी छन् ।




