श्याम कुमार ठाकुर
सिरहा, मंसिर २५ । जिल्ला सिरहाको बरियारपट्टी गाउँपालिका–२ बाट सिरहा प्रहरीले स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतीय नम्बरहको स्कुटीलाई रोकेर चेकजाँच गर्दा उक्त रकम फेला परेको सिरहा प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार तथा प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले गत बुधवार तलासीका क्रममा स्कुटीको डिक्कीभित्र लुकाइ–छिपाई राखिएको नगद सात लाख रुपैयाँ फेला पारेको प्रहरीले जानकारी दिएको छ।
उक्त रकमसहित स्कुटी चालक, बरियारपट्टी गाउँपालिका–३ का ४६ वर्षीय दिनेश महतोलाई प्रहरीले नियन्त्रणमा लिई पक्राउ परेका व्यक्ति र बरामद रकम तथा स्कुटीलाई आवश्यक कानूनी कारबाहीका लागि मिति ठाडी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरीले जनाएको छ।









