काठमाडौं, मंसिर २५ । काठमाडौं १० बाट लगातार तीन चुनाव जितेका नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी अब चुनाव नलड्ने भएका छन्। उनले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामा अब चुनाव नलड्ने स्पष्ट पारेका छन्।
केसीका अनुसार पार्टीमा रूपान्तरण र पुस्तान्तरण आवश्यक भएको कारण आफूले यो निर्णय लिएका हुन्। पार्टीको मताधार र संगठन कमजोर रहेको समयमा पटक–पटक चुनाव जितेका उनले अब काठमाडौं १० मा पार्टीको स्थिति बलियो भइसकेको बताए। उनका अनुसार अब युवा, महिला र जनजाति नेताहरूलाई अवसर दिनु जरूरी छ।
केसी २०७०, २०७४ र २०७९ मा काठमाडौं १० बाट निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिस्पर्धा गर्दै उनले यस क्षेत्रको ‘लालकिल्ला’ कांग्रेसकै पक्षमा परिवर्तन गरेका थिए। त्यसपछि पनि उनले लगातार चुनाव जितेर काठमाडौं १० मा पार्टीको बलियो उपस्थिति सुनिश्चित गरेका थिए।
केसीले भने, “अब म निर्वाचन नलड्ने निर्णयमा पुगेँ ताकि पार्टीमा नयाँ ऊर्जा, पुस्तान्तरण र नेतृत्वको अवसर खुल्ला रहोस्। पार्टीका युवा, महिला र अन्य नेताहरूले अघि बढ्न पाउनुपर्छ। म पद मात्र छोड्छु, राजनीति छाड्ने होइन।”
उनले स्पष्ट पारेका छन् कि आगामी १५ औँ महाधिवेशनमा पनि आफू कम्तीमा केन्द्रीय समितिमा सक्रिय रहँदै पार्टीलाई सुदृढीकरण गर्न लाग्ने छन्। काठमाडौं १० को आगामी उम्मेदवार को हुने भन्ने कुरा अझै निश्चित भएको छैन, तर कांग्रेसमा उम्मेदवारको कमी नहुने उनले बताएका छन्।




