काठमाडौं, मंसिर २५ । डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन्। ना ८ ख ७४५५ नम्बरको बस आज बिहान करिब ३ बजे दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि २२ जना घाइतेलाई तत्काल उद्धार गरी लमही अस्पताल पुर्याइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले बताए। बसमा जम्मा ३८ जना सवार रहेका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार बसको पट्टा भाँचिँदै गाडी अनियन्त्रित बनेको र त्यसपछि दुर्घटना भएको चालकले दिएको बयानमा उल्लेख छ। इन्सपेक्टर पाण्डेका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।




