काठमाडौँ , मंसिर २५ । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथसहित ४ जनाविरुद्ध भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि अस्तित्वमै नभएको घर रहेको प्रमाण बनाएर बैंकबाट ठूलो रकम ऋण लिएको र त्यसका लागि झुट्टा कागजात तयार पारिएको आरोप छ।
मुद्दामा उपाध्यक्ष नाथसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारलाई प्रतिवादी बनाइएको छ। आयोगका अनुसार उनीहरूले आपसमा मिलेमतो गरेर बेलडाँडी–२ को कित्ता नम्बर ३५७ स्थित ४०० वर्गमिटर जग्गामा पक्की घर रहेको झुट्टा नक्सा तयार पारी अभिलेखीकरण गराएर बैंक ऋण लिने प्रक्रिया अगाडि बढाएका थिए।
जग्गाधनी शान्ति नाथले घर नहुँदा नहुँदै पक्की घर रहेको झुट्टा नक्सा पेश गरी लक्ष्मी सनराइज बैंकबाट दुई चरणमा कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण उठाएको ठहर आयोगले गरेको छ। स्थलगत अनुगमन तथा नापी कार्यालय बेलौरीको प्रतिवेदनले समेत सो जग्गामा कुनै संरचना नभएको पुष्टि गरेको आयोगले जनाएको छ।
अख्तियारका अनुसार तत्कालीन प्रशासकीय अधिकृत जोशीले भवनको ग्राउन्ड फ्लोर, पहिलो र दोस्रो तला मिलाएर विस्तृत विवरणसहित नक्सा पास गरेको उल्लेख छ, जसमा ३ कोठा, सटर, ग्यालरी, सिडी, किचन आदि बनोट समेत उल्लेख गरिएको थियो। तर वास्तविकतामा त्यस्तो कुनै संरचना नभएको प्रमाणित भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियारले प्रतिवादीहरूलाई झुट्टा कागजात बनाइ भ्रष्टाचारजन्य कार्य गरेको आरोपमा कानूनी सजाय माग गर्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको छ।







